बुद्धकृष्णले गरे जिब्रो छेड्ने घोषणा

१६ चैत, भक्तपुर । यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन् ।

बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन श्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका हुन् ।

अस्पतालका एम्बुलेन्स चालक एम्बुलेन्स चालक तथा एम्बुलेन्स सङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म निरन्तर जिब्रो छेडेका थिए ।

विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेका थिए ।

जुजुभाईले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया–नेपालमैत्री अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल दासले जात्राका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार रहेको बुद्धकृष्णले बताए ।

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाएका थिए ।

परम्परा जोगाउन मध्यपुर थिमि नगरपालिकाले गत वर्ष रु ४४ हजार सहयोग गरेको बताउँदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने वचनबद्धता नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले बताए ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरव मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि आउँदो वैशाख २ गते मध्याह्न १२ देखि १ बजेको बीचमा हजारौँ मानिससामुन्ने बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नाय्खिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत