नयाँ राष्ट्र प्रमुख, उपप्रमुखलगायत चयनको वर्ष ०७४ – उपराष्ट्रपति

१ बैशाख ०७४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले ०७४ नेपाली पात्रोमा नयाँ राष्ट्र प्रमुख, उपप्रमुखलगायत चयनको वर्ष हुने बताएका छन् ।

nanda-bahadur-pun..

उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा नयाँ संविधानको पूर्ण कार्यान्वयन, स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन तहको सरकार निर्माण, संघीयताको व्यवाहारिक कार्यान्वयन, नयाँ राष्ट्र प्रमुख, उपप्रमुखलगायतको चयनको वर्ष हुने र देश दिगो आर्थिक विकासको दिशामा अगाडि बढाउने वर्ष हुने उल्लेख छ ।

‘नयाँ संविधानअनुसार स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको निर्वाचन हुने २०७४ नेपाली पात्रोमा एक ऐतिहासिक र उपलब्धीमूलक वर्षको रुपमा दर्ज हुने निश्चित छ’ शुभकामना सन्देशमा भनिएको छ, ‘सिंहदरबारमा कुण्ठित जनताको अधिकार संघीय संरचना र स्थानीय सरकारमार्फत गाउँघरमा पुग्ने व्यवस्था ल्याउन हजारौँ नेपाली वीर वीरंगनाहरुले आहूती दिनुभएको छ । सयौँ बेपत्ता तथा हजारौं घाईते अपांग हुनुहुन्छ ।’

उपराष्ट्रपति पुनले गणतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो शासन आफै गर्छन् भन्ने प्रमाणित गर्ने स्थानीय तहको निर्वाचनलाई उत्सवको रुपमा लिएर सहभागी हुन सम्पूर्ण नेपालीहरुमा अपील समेत गरेका छन् ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री समेतले दिए नयाँ वर्षको शुभकामना

नयाँ वर्षको आगमनका क्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसमेतले निर्वाचनबारे चिन्ता ब्यक्त गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको शुभकामनासँगै स्थानीय तह निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार बेलुका शुभकामना सन्देश जारी गर्दै नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाएको उल्लेख गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नयाँ वर्षको शुभकामना दिँदै आसन्न निर्वाचनमा पार्टीलाई जिताउन आग्रह गरेका छन् ।

यस्तै, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बर्षको सुरुमै हुन गइरहेको स्थानीय निर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफूले चुनेका प्रतिनिधिहरूका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन अनुरोध गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले निर्वाचन भन्दा पनि विगत एघार वर्षमा नेताहरुले के गरे भन्ने समीक्षा गर्नु पर्ने उल्लेख गरेका छन् ।Golden Oak

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत