३ बैशाख ०७४, काठमाडौं । कांग्रेसको २ नम्बर प्रदेशका सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुले चुनाव सारेर भएपनि मोर्चालाई सहमति ल्याउन सुझाएका छन् ।
काँग्रेसले पार्टी कार्यालय सानेपामा शनिबार स्थानीय तहको चुनावको तयारीबारे प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुसँग छलफल गरेको थियो ।
छलफलमा सहभागीहरुले मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर चुनावमा जानु पर्नेमा जोड दिएका हुन् ।
केन्द्रीय सदस्य रमेश रिजालले १०-१५ दिन निर्वाचनलाई सारेर भए पनि मधेस केन्द्रीय दलहरुलाई सहमतिमा लिएर जानु उपयुक्त हुने बताए ।
बैठकमा प्रदेश नम्बर २ का आठ जिल्लाकै सभापतिहरुले यथास्थितिमा निर्वाचन गए मुलुक द्धन्द्धमा फस्ने चेतावनी दिएका थिए । तर, सभापति शेरबहादुर देउवाले मधेसी मोर्चामा सहमति आउँछ कि आउँदैन भन्ने आशंका व्यक्त गरेका छन् ।