धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्छ !

७ बैशाख ०७४, काठमाडौं । महाभूकम्प गएकाे याे बैशाख महिनाले ठ्याक्कै २ वर्ष पुग्याे । २०७२ साल बैशाखकाे १२ गते महाभुकम्प गएकाे थियाे ।

LB Shrestha

एलबी श्रेष्ठ, दक्षिण कोरिया

१४ वटा जिल्ला त ध्वस्तै भएकाे थियाे । हजारौं मान्छेहरु मरे, कैयन बेपत्ता, घाईते, अपाङ्ग, घरवारविहीन र टुहुरा भए ।

मर्ने त मरेर गए, बाँच्नेकाे जिन्दगी कष्टकर बन्न पुग्यो ।

खानलाई खाना छैन, बस्नलाई बाँस छैन । हरिविजाेगै भयाे । महाभुकम्प पछाडि याे २ वर्षमा ३ फरक अनुहार, फरक पार्टी, फरक सिदान्तका मान्छे प्रधानमन्त्री भए ।

राष्ट्रपति फेरिए । उपराष्ट्रपति फेरिए । दर्जनौं मन्त्री फेरिए । सचिव फेरिए, कर्मचारि फेरिए ।

चिन भ्रमण गरे, भारत भ्रमण गरे । तलवभत्ता बढाए, चिल्लाे गाडीहरु फेरिए । मिटिङ गर्ने पाँच तारे हाेटलहरु फेरिए ।

विडम्वना, ढलेकाे धरहरा उठेन, गरिवकाे छाप्राे उठेन, भाेका- नाङ्गाकाे पेट भरिएन । भत्केकाे विद्यालय, अस्पताल, बाटाेघाटाे बनेन ।

अझैपनि, सिन्धुपाल्चाेककाे गाँउतिर खाना नपाएर केटा केटी, वृद्धवृद्धा मरिरहेछन् ।

गाेरखाकाे गाँउतिर जाडाेले कठिङ्ग्रिएर ज्यान गुमाइरहेछन् ।

दाेलखाकाे गाँउतिर अाैषधाेपचार नपाएर बिरामी, सुत्केरीहरु मरिरहेछन् ।

नेपाल दक्षिण एसियाकाे दाेस्राे गरिव मुलुक भइसकेकाे छ । काठमाडाैमा २४ सै घण्टा श्वास फेर्न हानिकारक रहेकाे अध्ययनले देखाइसकेकाे छ । तर पनि, याे देशका सुकिला-मुकिलाहरु मञ्चमा उभिएर उदघाेष गर्दैछन् “याे देश बनाउने जिम्मा म र मेराे पार्टीकाे हाे, याे देश म र मेराे पार्टी बाहेक अरुले बनाउदैन । मलाई भाेट लेउ, याे देशलाई म सिंगापुर बनाउछु।”

वाह रे, वाह !
धिक्कार छ, नालायकहरु तिमीहरुलाई,

तिमीहरुकाे अनुहारलाई म चरम घृणा गर्छु ।

याे गर्छु, त्याे गर्छु, भनेर घाेक्राे सुकाएर कहिल्यै नथाक्ने महाशयहरु, देश र जनताकाे यस्ताे हालत हुनेसम्म कस्काे टाउकाे कनाइरहेका छाै ?

जवाफ छ ? ……….

चाईनासँग मतपेटिका मागेर, अाैलामा लगाउने मसिसमेत भारतसँग मागेर चुनाव गरेर याे देश कायपलट गराउँछु भन्द‌ै भुक्ने नेतृत्वकर्ताहरु तिमीहरुकाे अाैकात त्यही हाे ?

देश बनाउने ठेक्का पाएका ठेकेदारहरु, वरिष्ठ,हाकिमहरु, देशकाे ढुकुटी रित्ताएर अाफ्नाे पाेल्टाे भर्नमा व्यस्त छन् ।

याे धुर्मुस-सुन्तलीलाई के काे सकसक ?

Dhurmus-suntali

लाखौं रकमकाे तलव-भत्ता खानेहरुले, याे देशकाे हड्डी चुस्नेहरुले २ वर्षमा सिङ्काे भाँच्न सकेका छैनन् ।

अनि धुर्मुस-सुन्तली चाँहि दुनियासँग हारगुहार गरेर, रातारात खटेर, ३ महिनामा ५०-६० घर बनाएर हस्तान्तरण गर्नु पर्ने चटाराे किन ?

राजनीतिकाे नाममा एउटै दाजुभाई फुटाउने, जाति, वर्ग, धर्म अलगाउनेहरुकाे हैकाम चलेकाे बेला धुर्मुस-सुन्तलीलाई हिमाल, पहाड, तराई क्षेत्रमा बस्ती बनाउने चिन्ता किन ?

भ्रष्टचारी जेलबाट निस्कदा ६० किलाेकाे मालाले स्वागत गर्ने देश हाे, हाम्राे ।

रातदिन खटेर घरवारविहीन, गरिव-निमुखाकाे बस्ती बनाउँदै हिँड्ने, दिन-दु:खीकाे आँशु पुछ्दै हिँड्ने, दुखेकाे बेला मलहम पट्टी लगाउदै हिँड्ने, धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्छ ।

आशाका किरण, राष्ट्रका सपूत असल, इमान्दारलाई छानी-छानी देश निकाला गर्नुपर्छ । नयाँ दैनिकीमा एल.बि.श्रेष्ठ, दक्षिण कोरियाको विचार छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत