सत्तारुढ दलले संशोधन विधेयक परिर्माजन गर्ने : मधेशी मोर्चा चुनावमा जाने

Gov-morcha-batra

८ बैशाख ०७४, काठमाडौं । सत्तारुढ दलले संविधान संशोधन विधेयक परिर्माजन गरी मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि मोर्चा चुनावमा जान तयार भएको छ ।

मोर्चाका नेताहरुका अनुसार सत्तारुढ दलले स्थानीय तहको चुनाव अघि नै फास्ट ट्रयाकबाट परिर्माजनसहित संविधान संशोधन विधेयक पास गर्ने बचन दिएपछि मधेशी मोर्चा चुनावमा जान तयार भएको हो ।

मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णकाअनुसार मोर्चाले धारा ७, २७४ र आयोग गठनमा परिर्माजनको माग गरेको  र सत्तारुढ दलले बैठक बसेर मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने बताएपछि सहमति जुटेको थियो ।

मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता गरेकै भोलिपल्ट नयाँ समझदारी जुटेको हो । रातभरमा कुनै चमत्कार  नभए भोलि शनिबार सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

मोर्चाका नेता केशव झाका अनुसार धारा ७ को धारामा पहिलो संशोधनलाई निरन्तरता दिइनेछ । केन्द्रमा बहुभाषित नीति हुनु पर्ने अडानमा मधेसी मोर्चा लचिलो भएको छ ।

धारा २७४ को संशोधनमा सीमांकन हेरफेरका लागि सम्वन्धित सबै प्रदेश भन्ने को सबै हटाउने सहमति जुटेको छ । साथै, सीमांकन हेरफेरका लागि गठन गरिने संघीय आयोगलाई समानुपातिक समावेशी बनाउन सत्तारुढ दल सहमत भएका छन् ।

‘हामीले पहिला पनि संविधान संशोधन होस्, चुनावमा आउँछौं भनेका थियौं ।’ नेता झाले भने, ‘सरकारले संशोधन गर्छु भनेको छ, हामी चुनावमा जान तयार छौं ।’

संविधान संशोधन विधेयक परिर्माजन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत