अहिले आएको संशोधन प्रस्तावले मुलुकलाई निकास दिन्छ – रायमाझी

११ बैशाख ०७४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने बताएका छन् ।

Tob- bdr-Rayamahji

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको टिप्पणी समेत गरे ।

उनले मुलुकको निकास र निर्वाचनको लागि यो प्रस्ताव आएकोले सबै प्रमुख दलहरुले यसलाई सदनबाट पारित गराउन साझा दायित्व निर्वाह गर्नु पर्ने बताए ।

‘यो अन्यन्तै राम्रो प्रस्ताव हो’ रायमाझीले भने, ‘यसलाई पारित गराउनको लागि हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’

उनले एमालेकै समर्थनमा प्रस्ताव पारित हुने र मुलुकको निकासको ढोका खुल्ने भएकाले एमालेले प्रस्तावको विरोध गर्नुको कुनै तुक नभएको बताए ।

यसैगरी नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने दावी गरेका छन् ।

‘एमाले पनि यो प्रस्तावलाई समर्थन गर्छ’ नेता रिजालले भने, ‘मलाई लाग्छ यो प्रस्ताव सर्वसम्मतीले पारित हुन्छ ।’

नेकपा एमालेका नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए ।

उनले भने, ‘चुनाव हुने शर्तमा हामी संविधान संशोधनको विपक्षमा छैनौं, तर संशोधन प्रस्तावको कन्टेन्टमा हामीसँग छलफल गरिएन्, यो प्रस्ताव हामी सदनमा रोक्दैनौं ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत