नेपालमा मई दिवसको प्रारम्भ २००९ सालदेखि

काठमाडौं । श्रमजिवीहरुले विश्वका मजदुरहरु एक हौ भनी मई महिनालाई महत्वपूर्ण पर्वका रुपमा मनाउन थालेको आज १ सय २८ वर्ष पूरा भइसकेको छ ।

नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय मई दिवस मनाउन शुरु गर्दाको अवस्था हेर्ने हो भने अहिलेका मजदुरको अवस्था १२८ वर्ष अघिकै अवस्थामा छन् । जसलाई जस्तो सुकै पीडा भए पनि काम गर्नु पर्ने बाध्यता छ ।

जस्तो घरेलु मजदुर , बाल मजदुर ठेकेदारको काम गर्ने मजदुर र पिस रेटका आधारमा काम गर्ने मजदुरको अवस्था साथै गिटी कुटने वालुवा चाल्नेहरुको अवस्था सुरुवाती तहमै छ । तिनमा मई दिवसको अवधारणा लगाउन सक्ने अवस्था अहिले पनि प्रष्ट छैन ।

यसो हेर्दा असंगठित क्षेत्रमा मजदुर संगठनले आफ्नो पहुँच बनाएका कारण दमन, शोषणमा कमि आए पनि कतिपय मजदुरका बाध्यात्मक कारणलाई पक्रिएर ठेकेदार र मालिकहरुले तिनको मनोविज्ञान र बाध्यताको फाइदा उठाई चरमशोषण गरिरहेका छन् ।

पार्टीमाथि प्रतिबन्धका बीच मई दिवस प्रारम्भ 

नेपालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको भएता पनि २००९ सालमा ६३औं अन्तर्राष्ट्रिय मई दिवस वीरगंजमा सम्पन्न भएको थियो ।

पार्टीमाथि प्रतिबन्ध लगाइए पनि मई दिवसमा पर्चा वितरण र सभामार्फत् पार्टी प्रतिबन्ध फुकुवा गर, विदेशी सेना फिर्ता गर भनी नारा जुलुशसहित कार्यक्रम गरिएको थियो ।

स्व.सधाना प्रधान सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कमरेड निरन्जन गोविन्द बैद्य, वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा, साहित्यकार मदनमणि दीक्षित लगायतका वक्ताहरुले समसामयिक धारणा राखेका थिए ।

२०१० सालमा पनि ६४औं मई दिवस साहित्यकार गोपालचन्द्र गौतमको सभापतित्वमा आयोजना गरिएको थियो र सो सभाले मई दिवस मजदुरहरुको पर्व भएकाले मजदुरहरुले भाग लिनु पर्दछ । उपनिवेशवादीहरु र साम्राज्यवादीहरुको नाश होस, नेपाल कम्यनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध खारेज गर, विभिन्न ठाउँमा किसान संघमाथि लगाएकोे प्रतिबन्ध खारेज गर भनी नारा जुलुशसहित कार्यक्रम गरिएको थियो ।

यसैगरी २०१४ सालमा जनवादी चीनका अध्यक्ष कमरेड माओको निमन्त्रणामा मई दिवसको निम्तालाई सहर्ष स्वीकार्दै अखिल नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव तथा नेकपाका संस्थापक सदस्य कमरेड नरबहादुर कर्माचार्य र मनमोहन अधिकारी चीन गएका थिए ।

राजा महेन्द्रले २०१७ सालमा फौजीकाण्डमार्फत् बहुदलीय प्रजातन्त्रको अन्त्य गरी निरंकुश पञ्चायती व्यवस्थाको भार नेपाली जनतालाई बोक्न बाध्य बनाए ।

राजा महेन्द्रले संघ–संस्था र पार्टीहरुमाथि प्रतिबन्ध लगाएसँगै मई दिवस र मजदुर संगठन पनि छायाँमा पर्न थाल्यो । तर पनि २०१८ सालको मई दिवसको कार्यक्रम मजदुरहरुले पञ्चायती व्यवस्थाको खारेजीको माग गर्दै मनाएका थिए ।

मई दिवसको उदय : एक चर्चा

असिमित कामको घण्टालाई घटाउने आन्दोलनको नाम नै मई दिवस हो । यसको उद्गमस्थल मूलतः अमेरिकाको शिकागो शहरको हेमार्केट चोकको मजदुर सभा हो ।

यसका अगुवा तथा क्रान्तिकारी महानायकहरु पार्सन, फिल्डन, स्क्वाब, एंगेल, नीबे, लिङ र फिसरलाई मजदुरहरुले गरिरहेको असिमित कार्यघण्टा घटाउने आन्दोलनको अगुवाई गरेकामा झुठा मुद्दामा फसाई फाँसीको सँजाय दिइएको थियो ।

सन् १८८९ मा फ्रान्समा भएको दोश्रो अन्तर्राष्ट्रियले मजदुरवर्गको एक साझा दिवस मनाउने निर्णय गरेको थियो । विश्वमा प्रथम पटक मई दिवस सन् १८९० को मई १ तारिखको दिन मनाइएको थियो ।

सो समयमा अमेरिका लगायत युरोपका गिनेचुनेका देशहरुमा मात्र मनाइन्थ्यो । आठ घन्टा कार्य दिनको आन्दोलनको तयारीमा अमेरिकी मजदुरहरु सन् १८८४ देखि नै प्रचार, प्रसार र संघर्ष समितिको निर्माणमा जुटेका थिए ।

सन् १८८६ देखि अमेरिकाका मजदुरहरुले एक दिनलाई तीन भागमा विभाजन गरी संघर्षको सुरुवात गरेका थिए । पहिलो भाग मेहनत गरी काम गर्ने, दोश्रो भाग आठ घण्टामा आराम गर्ने, तेश्रो भाग आठ घण्टालाई मनोरन्जन, भेटघाटमा बिताउने ।

जुझारु मजदुरहरुको बलिदानपछि यो संघर्षले अन्ततः सफलता पायो । यसको पहिलो फल अमेरिका र युरोपका मजदुरहरुले चाख्न पाएका थिए । यो मजदुर आन्दोलन आठ घण्टाको मागमा मात्र सीमित रहेन श्रमिकवर्गको राज्यसत्ता स्थापनासम्म नै अघि बढेको थियो । र, यो वर्गसंघर्ष अनन्तरुपमा चलिरहेकै छ ।

महान कम्युनिष्ट गुरुहरुले मई दिवसलाई आमूल परिवर्तन र मजदुरवर्गको राज्यसत्ता स्थापनाको कडिकोररुपमा व्याख्या विश्लेषण गर्दै सुधारवाद र अर्थवादको विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नुपर्छ भनेका छन् ।

अमेरिकाको सिकागो शहरमा आठ घण्टाको कार्य दिनको माग गर्दै प्रदर्शनमा उत्रिएका मजदुरमाथि अन्धाधुन्ध गोली चलाई हत्या गरेको र आन्दोलनको अगुवाई गरेका मजदुर नेताहरुलाई प्रतिक्रियावादी सरकारले झुठा मुद्दा चलाई फाँसीको सँजाय दिएकोले ती महान मजदुर शहीदहरुको सम्झनामा पेसागत मागहरु र राजनैतिक अधिकारको मागसहित मई दिवस मनाउन थालिएको कुरा हाल श्रमिकहरुले बुझ्न थालेका छन् ।

हाल आएर संसारभरि नै मई दिवस मनाइन्छ र केही देशहरुमा मई दिवसको कार्यक्रमलाई गैरकानुनी घोषणा गर्दै प्रतिबन्ध लगाउने र मई दिवसको कार्यक्रममाथि निर्ममतापूर्वक दमन गर्दै आएको भएतापनि धेरैजसो देशहरुमा मजदुरलाई सार्वजनिक विदा दिने गरेको पाइन्छ ।

समाजवादी तथा कम्युनिष्ट सत्ता भएका देशहरुमा मई दिवसलाई उत्सवकोरुपमा मनाइन्छ । मजदुर आन्दोलनको मूल उद्देश्य अहिले पनि आमूलपरिवर्तन र श्रमिकवर्गको राज्यसत्ता कि प्रतिकृयावादीको राज्यसत्ता ? भनी बहस र आन्दोलनमा नै केन्द्रित रहेको देखिन्छ ।

अन्टुफ, स्कूल तथा प्रकाशन विभाग

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत