मतदानको तीन दिनअघि मतदाता परिचयत्र पत्र वितरण गरिने

२५ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि  तीन दिनअघि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

Nirwachan aayog1

आयोगले मतदानको तीन दिनअघि २८, २९ र ३० गते मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो  । यसपटकदेखि आयोगले मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको  छ ।

मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्रस्थल पुग्नु पर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत मन्जुरीनामा दिएर पठाउन सकिने छ ।

पहिलो चरणअन्तर्गत मतदान गर्ने ४९ लाख ५६ हजार नौ सय २५ मतदाताको परिचयपत्र छपाइ सकेर जिल्लामार्फत मतदान केन्द्र पठाउने काम सुरु भइसकेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले यसपालिको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य हुने बताए । उनका अनुसार परिचयपत्र छपाइ सकेर पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३४ जिल्लामा पठाइसकिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा ‘फिचर’ रहेको तस्बिरसहितको मतदाता परिचयपत्र तयार पारेको छ ।

आयोगका अनुसार सुरक्षाका हिसाबले मतदाता परिचयपत्रमा मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखेको फोटोसहितको मतदाताको विस्तृत विवरणसमेत राखिएको छ ।

कागजमा छपाइ गरिएको परिचयपत्र लेमिनेसन गरिएको छ । केही वर्षपछि राष्ट्रिय परिचयपत्र बाँड्ने तयारी सरकारले गरिरहेकाले केही वर्ष टिक्ने गरी विशेष सुरक्षा फिचरसमेत राखेर मतदाता परिचयपत्र छापिएको आयोगले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत