सर्वोच्चको चियापानमा भीभीआइपी नै अनुपस्थित

२६ बैशाख ०७४, काठमाडौं । सर्वोच्च अदालतले ६५ औं कानुन दिवसको अवसरमा आयोजना गरेको चियापानमा कैयन भीभीआइपी अनुपस्थित भएका छन् ।
पछिल्लाे समय कार्यपालिका र व्यवस्थापिका संसदसँग न्यायालयको दुरी बढेपछि मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित चियापान कार्यक्रममा त्यसको असर देखिएको हाे ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै विवादमा तानिएकी प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यशैलीका कारण भीभीआइपीहरु चियापान कार्यक्रममा सहभागी भएनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती मगर, कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठ पनि चियापानमा देखिएनन् ।
तर, मन्त्रपरिषद्का तर्फबाट सूचना तथा सञ्चार मन्त्री राम कार्कीले सहभागिता जनाएका थिए ।
चियापानमा राजनीतिक दलका नेताहरुका लागि राखिएको कुर्सी पनि खाली देखिएकाे थियो ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली पनि चियापानमा सहभागी भएनन् ।

कानुन दिवसकाे अवसरमा सर्वोच्चले आयोजना गर्ने चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनीधि, कानुनव्यवासायी लगायतका व्यक्तिलाई निमन्त्रणा दिने परम्परा छ ।

सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्कीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि गत शुक्रबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको इजलासले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

 

त्योसँगै कार्कीलाई शुक्रबारबाटै काममा फर्कन सर्वोच्चले भनेको आदेश गरेको थियो । कार्की आईतबार सर्वोच्च अदालत पुगेर आफ्नो काम थालेकी थिइन् ।

कानुन दिवसको अवसरमा सर्वोच्चले प्रधानन्यायाधीशको प्रमुख आतिथ्यमा हरेक वर्ष कार्यक्रम गर्ने गर्दछ ।

यो वर्ष कानुन दिवसको पूर्वसन्ध्यामा महाअभियोग प्रकरण आयोे, जसको छायाँ कानुन दिवसको अवसरमा सर्वोच्चले गरेको कार्यक्रममा पनि पर्‍यो ।

 

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत