संविधान संशोधन बिना मधेशमा कुनै चुनाव हुन नदिने महतोको चेतावनी

२९ बैशाख ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य नेता राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

Rajendra Mahato

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रम बोल्दै राजपाका नेता महतोले संविधान संशोधन बिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बताएका हुन् ।

संविधान संशोधनको विरूद्ध रहेका दलहरु मधेशी जनतालाई राम्ररी थाहा भएको भन्दै महतोले अब हुने मधेश आन्दोलन यिनै दलहरूको विरुद्धमा हुने भन्दै संशोधनको विरोधमा रहेका र संशोधन बिना चुनावमासहभागी हुने राजनीतिक दलहरुलाई मधेशी जनताले तह लगाउने बताए ।

‘मधेशी जनतालाई राम्ररी थाहा भइसकेको छ, कुन दल संविधान संशोधनको पक्षमा छ र कुन दलले यसको विरोध गरेको छ,’ महतोले भने, मधेशी जनताले अबको आन्दोलनमा त्यस्ता दललाई ठीक पार्नेछ ।’

संविधान संशोधन बिना राजपाले चुनावमा सहभागी नहुने स्पष्ट पार्दै महतोले प्रचण्ड सरकार गठनको बेला मधेशी मोर्चासँग गरिएको समझौता अनुरूप झूठा मुद्दा फिर्ता लिने र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउन माग समेत गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत