रिट निवेदक सिलवालको नातेदार न्यायाधीश श्रेष्ठ : मुद्दा ‘हेर्न नमिल्ने’

२ जेठ ०७४, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार बृहत् पूर्ण इजलास गठन गरे पनि प्रहरी महानिरीक्षक नियुक्ति विवादमा एक जना न्यायाधीश रिट निवेदक डीआईजी नवराज सिलवालका नाता परेकाले ‘मुद्दा हेर्न नमिल्ने’ भएको छ ।

बृहत् पूर्ण इजलासमा न्यायाधीशहरु देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल प्रधान र तेजबहादुर केसी छन् ।

सात जनामध्ये न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ रिट निवेदक नवराज सिलवालको नातेदार हुन् ।

यसअघि प्रहरी महानिरीक्षक नियुक्ति विवादको निरुपण गरेका केही सीमित न्यायाधीशहरु मात्रै यो इजलासमा समावेश छन् ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेलगत्तै डीआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए ।
सिलवालसहित अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट निवेदनका आधारमा सर्वोच्चले चन्दलाई महानिरीक्षक नियुक्त गर्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश दियो भने पछि मुद्दालाई अन्तिम किनारा लगाउने क्रममा समेत चन्दको नियुक्ति खारेज गरिदियो । साथै चार वर्षको औसत कार्यसम्पादन मूल्यांकनमा सिलवालमाथि देखिएको भन्दै उच्चतम अंक ल्याउनेलाई नै महानिरीक्षक बनाउन आदेश दियो ।

सर्वोच्च अदालतको निर्णयको केही सातापछि मन्त्रिपरिषद्  बैठकले कार्यसम्पादन मूल्यांकनको समेत विश्लेषण गरेर प्रकाश अर्यालको अंक सबैभन्दा बढी देखिएको भन्दै उनैलाई प्रहरी महानिरीक्षक बनायो । त्यसविरुद्ध सिलवाल फेरि सर्वोच्च अदालत पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत