पाठक र तामाङलाई सरकारद्वारा शहीद घोषणा

४ जेठ ०७४, काठमाडौं । स्थानीय चुनावमा मारिएका दुई जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

DSC2534-1-600-300

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरेको हो ।

नमोबुद्धमा बैशाख ३० गते राति पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या पछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । यसैगरी माओवादीसँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

थरुहट-तराई आन्दोलनका मुद्दा फिर्ता

बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत