भरतपुर महानगरका निर्वाचन अधिकृतले धाँधली गरेको कांग्रेस-माओवादी गठबन्धनको आरोप

IMG_20170519_104102

५ जेठ ०७४, चितवन । कांग्रेस, माओवादी केन्द्र र राप्रपाले भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै मतगणना बहिस्कार गरेका छन् ।

मतगणना बहिस्कारपछि संयुक्त पत्रकार सम्मेलन गर्दै माओवादी-कांग्रेस गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रूटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो ।’

IMG_20170518_155330

वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौ को मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले बताए ।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरीत कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।

नौ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५ हजार १५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८०९ मत सार्बजनिक गरिएको थियो ।

रेणु दाहालले ५ सय मतले अग्रता लिनु पर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको माओवादी चितवन जिल्ला सहइन्चार्ज घनश्याम दाहालले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत