मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं – प्रधानमन्त्री प्रचण्ड

DSC1149-600-300

७ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश केन्द्रित दल र मधेशी जनतालाई ब्यालेटबाटै मधेशका मुद्दा  संस्थागत गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनकपुर टुडेको १८औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश केन्द्रित दल र मधेशी जनताको भावनाको आफूलाई गहिरो हेक्का रहेको भन्दै ब्यालेटबाटै जनताका मुद्दा सम्बोधन गर्न आग्रह गरेका हुन् ।

‘मधेश र मधेशी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउनुपर्छ । आन्दोलन र संघर्षको रुप सधैं एउटै हुँदैन, तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं ।’

संविधान संशोधनको प्रक्रिया अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिने बताए । साथै, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको, घाइते र शहिदहरुको उपचार र राहतको निर्णय गरिएको बताए ।

सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन मुद्दा फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन ।’

प्रधानमन्त्रीले हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न नसकिने बताउँदै हत्यामा संलग्न नभएकाहरुको झुट्टा मुद्दा भने सरकारले फिर्ता गर्ने बताए ।

‘हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न पनि सकिँदैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, हत्यामा संलग्न नभएकाहरुको झुट्टा मुद्दा भने सरकारले फिर्ता गर्छ ।’

कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता महेन्द्र राय यादव, कांग्रेस नेता अमरेशकुमार सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत