सधैं एकजुट बनेर ‘विद्रोह’ गर्ने थवाङको राजनीतिमा विभाजनको रेखा !

६ असार ०७४, रोल्पा । विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी माहोल बढेको छ । सधैं एकजुट बनेर ‘विद्रोह’ गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको नागरिक दैनिकमा खबर छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र  स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङका कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मतदानको दिन नजिकिँदै गर्दा थवाङबासी दोधारमा परेका छन्। हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङबासी कसलाई भोट दिने भन्नेमा अन्योलमा परेका हुन् ।

थवाङमा विद्रोहको आफ्नै इतिहास छ। धेरै वर्षअघि भुरेटाकुरे राजा थवाङको छापकोट (जो अहिले रुकुममा) आइपुगे । हतियार र सेनाको दलबलसहित राजाको थवाङ बसाइ स्थानीयलाई चित्त नबुझेपछि अलमलमा परेका थवाङबासीसमक्ष उनले एउटा प्रस्ताव गरे ।

प्रस्तावअनुसार थवाङमा धान छर्ने, उमि्रयो भने राजाले बसाइँ यतै सार्ने, उम्रेन भने फिर्ता जाने । धान छर्न बीउ दिइयो। तर गाउँलेले राजाले दिएको धानको बिउ भुटेर खेतमा छरे। भुटेको धान नमि्रएपछि राजाबसाइँ सरे । यो इतिहास रहेको थवाङ राजा र राज्य सत्ताबाट अलग हुन चाह्यो।

थवाङीबासीले २०६४ को संविधानसभामा ३ मतबाहेक सबै पुष्पकमल दाहाललाई दिएका थिए भने २०७० सालको संविधानसभामा एकमत पनि खसालेनन् । २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार खगुलाल गुरुङलाई दिएका थिए।

 २०३८ सालको चुनावमा थवाङबाट रित्तो मतपेटिका फिर्ता भएको थियो । २०५६ को संसदीय चुनावमा हेलिकप्टरमा पुगेका दुई जनाले मात्र मतदान गरेका थिए । २०५४ मा यहाँ स्थानीय चुनाव भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ को संसदीय चुनावमा चार मत खसेको थियो । २०३९ सालको स्थानीय चुनावमा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए ।

कसरी भित्रियो थवाङमा कम्युनिस्ट

थवाङमा २०१२ सालमा कम्युनिस्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा) ले गाउँमा सुँगुर, बंगुर, कुखुरा, कुकुर  खुला नछोड्न आदेश गरे । झ्याली पिटाए। कटुवाललाई हाक हाल्न लगाए । तर, गाउँलेले टेरेनन् । स्थिति फेरिएन । अनि सुरु गरे मुखियाले जनावरमाथि आक्रमण। सुँगुर, बंगुर, कुखुरा, कुकुर रक्त्याम्मे भएर घरगोठ पुगे । भरुवा बन्दुक, खुकुरी, भालाका घाउले जनावर हेरिनसक्नु भए । उनीहरूका घाउ पाके । विरोधमा बोल्ने हिम्मत कसैमा भएन ।

असाध्यै भएपछि बरमन बुढा (पूर्वसांसद) लगायतका युवाले प्रतिकार गरेका थिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । रोल्पा जिल्ला जन्मिएको थिएन, त्यसैले बुढालाई प्युठान कारागार पुर्‍याइयो ।

 संयोगवश बुढाको भेट कम्युनिस्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिस्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिस्ट राजनीति सुरु भयो । उनीपछि प्युठान कारागार पुगका मुखिया कृष्ण झाँक्री पनि कम्युनिस्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के ।

जेलबाट छुटेका मोहनविक्रम दाङ, सल्यान, रुकुम हुँदै थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गर्न थालेपछि कम्युनिस्ट राजनीतिको औपचारिक सुरु भएको थयो ।

०३८ सालमा शून्य मत

२०३६ सालमा रामकुमार बुढाले रक्सीको डेग (डिलर) लगे । जनताले रक्सीको व्यापार गर्न नपाउने भए । प्रहरीले कारबाही सुरु गर्‍यो । विरोध गर्दा धेरै शिक्षक सरुवा भए । अनि सुरु भयो प्रहरी प्रशासनप्रति नकारात्मक भावना । ६–७ जनाको संख्यामा रहेका प्रहरीलाई थवाङबासीले असहयोग सुरु गरेपछि प्रहरीचौकी मिरुलतिर सर्‍यो । २०३६ मा जनमत संग्रह भयो । सबै मत बहुदललाई गयो । प्रशासन र थवाङको सम्बन्ध चिसियो ।

२०३७ को अन्तिममा सदरमुकामबाट दाङ जोड्ने घोडेटो बाटो खन्न ५१ वटै गाउँ पञ्चायतलाई श्रमदान गर्न अनिवार्य गरियो । तर अनिकाल परेकाले किनेर ल्याएको अन्न बोकी श्रमदान गर्न नसकिने निर्णय गर्‍यो थवाङले । थवाङले कम्तीमा पनि खानाको मागसहित श्रमदानको सर्त बनायो । यही निर्णय बोकेर त्यतिबेलाका प्रधानपञ्च बरमन बुढा (पूर्वसांसद) सदरमुकाम आए । प्रहरी प्रशासनले पनि जनमत संग्रहमा बहुदललाई भोट दिएको रिस र ‘विकास विरोधी’ आरोपमा उनलाई जेल हाल्यो ।

२०३८ को निर्वाचनमा गाउँसभाले बरमन बुढाको रिहाइको माग गर्‍यो । सरकारले बुढालाई छोड्न मानेन । त्यसैको झोकमा थवाङबासीले मतपेटिका रित्तै फर्काइदिए । त्यसलगत्तै कात्तिक ५ देखि सेनाले ठूलो अप्रेसन थाल्यो ।

 थवाङमा इतिहासदेखि अहिलेसम्म जहिले पनि एकजनाको सत्ता चल्थ्यो । थवाङबासी सधैं एक मुखले निर्णय गर्थे । विरोध पनि सबैले गर्ने र समर्थन पनि सबैले ।

२०७० मा किन शून्य मत ?

 कुनै समयमा माओवादी र थवाङ एउटै जस्तो लाग्थ्यो । कारण माओवादी जन्मिएको ठाउँ, हुर्किएको आँगन, जनयुद्धको जग हालेको भूमि । यही ठाउँका ३९ जनाले देश र जनताका नाममा रगत बगाए । सयौं घाइते, अपांग, टुहुरा, विधवा भए ।

प्रायः मगर र दलित बसोबास रहेको थवाङ स्वच्छ, इमानदार, लगनशील, समाजप्रति समर्पणको भावना अनि बलिदानीपूर्ण इतिहासका कारण परिचित छ । यातायात, शिक्षा, स्वास्थ्य, रोजगार, राज्यको उपस्थितिको पहुँच नभएकाले यहाँको जीवन कष्टकर छ ।

ठूलो रोग लागिहाल्यो भने सहरका सुविधा सम्पन्न अस्पतालमा जान सक्ने आर्थिक हैसियत थोरैको मात्र छ । कतिपय सदरमुकामसम्म पनि पुग्न नसक्ने अवस्थामा छन् । देशमा राजतन्त्र गएर गणतन्त्र आए पनि थवाङीले परिवर्तनको अनुभूति गर्न पाएनन् ।

‘समान अधिकार सहभागिता त परै जाओस्, अधारभूत आवश्यकता पूर्ति गर्न पनि पाएनन् । हिजो राज्यले विभेद र सौतेलो व्यवहार गर्‍यो भनेर त्यसैको आडमा यहींबाट द्वन्द्व सुरु गरेको माआवादीले सबैलाई बन्दुक पड्काउन सिकायो । सत्तामा पुग्यो तर जन्मथलोलाई गर्व गर्न सक्ने केही गरेन’, धेरै थवाङबासी यसै भन्छन् ।

सँगै खाने, बस्ने र साम्यवाद सुरु गर्ने भन्दै कम्युनको स्थापना गर्न लगाएर भएभरको सम्पत्ति एकै ठाउँमा जम्मा गर्न लगाइयो । अहिलेका नेताहरू त्यो अभ्यासको ठिक विपरीतमा लागे । ३१ वटा घरलाई एउटै ठाउँमा गाभेर जनकम्युन स्थापना गरिए पनि हाल १४ घर मात्र यसमा बाँकी छन् । अझ अलग्गिने क्रम जारी छ । ‘बरु एक्लै बसेको भए आज अलिकति भए पनि जायजेथा जोडिन्थ्यो,’ थवाङीको गुनासो छ । हिजो स्थापना गरिएका जनवादी विद्यालय गाईगोठमा परिणत भएका छन् । सहकारी पनि अलपत्र छन् ।

हिजो माओवादी र थवाङीको सपना, लक्ष्य एउटै थियो तर आज माओवादी सहर छिरेपछि उसको रहर फेरिएको र थवाङ उनीहरूका लागि बिरानो गाउँ भएको स्थानीयको गुनासो छ । समान सहभागिता र राज्य सत्तामा समान पहुँचका लागि लड्छु भनेर सहर छिरेका नेतासँग सम्बन्ध टाढिएको छ ।

आफूले भनेजस्तो भूमिका नपाउनु र सत्तामा पुगेपछि पार्टी विभाजन हुनुले २०७० सालको चुनाव पूर्ण रूपमा बहिष्कार गरेका थिए थवाङबासीले । अहिले बहिष्कार होइन सहभागी बनेर जितिन्छ भन्ने निष्कर्षमा पुगेका छन् उनीहरू । तर, कसलाई जिताउने भन्ने दोधार भने उनीहरूमा प्रस्ट देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत