निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब ६ लाख यात्रु बाहिरिए

१३ असार ०७४, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको  निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब ६ लाख यात्रु बाहिरिएका छन् ।

 

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी  हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौँमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय  महासङ्घका महासचिव सरोज सिटौलाले मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन  गरी बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमा भन्दा अतिरिक्त छ लाख यात्रु बाहिरिएको जानकारी दिए ।

लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौँ बाहिर जाने कलङ्की, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रुको भिड देख्न सकिन्छ । आजै साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमा भन्दा अहिले बाहिर जाने यात्रुको भिड छ ।

दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौँका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत