विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ

२० असार ०७४, भक्तपुर । नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रस्थित नयाँ मिटर वितरण फाँटका सुपरभाइजर भगवानसागर भैल ११ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले सोमबार भैललाई सेवाग्राहीबाट बुझिलिएको एघार हजार रुपैयाँसहित कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

काभ्रेको बनेपा निवासी भैलले भक्तपुरको सूर्यविनायक नगरपालिका ६ कटुञ्जे सल्लाघारीका एक सेवाग्राहीसँग मिटरको क्षमता बढाउन एघार हजार रुपैयाँ घूस लिएको थियो ।

मसला पिन्ने उद्योग सञ्चालन गर्दै आएका मिलन राईले १५ एम्पियर क्षमताको मिटर प्रयोग गर्दै आएको थियो भने उक्त मिटरको क्षमता ३० एम्पियर बनाउन नयाँ मिटर वितरण फाँटमा पटकपटक धाउँदा पनि आफ्नो काम नभएपछि राईले अख्तियार गुहारेको हो ।

सेवाग्राही राईका अनुसार प्राधिकरणको नियमानुसार लाग्ने शुल्क तिर्दा पनि मिटरको क्षमता बढाउन भैलले घूस मागेका थिए ।

राईको उजुरीअनुसार सोमबार विद्युत प्राधिकरण पुगेका अख्तियारको अनुसन्धान टोलीले आरोपी भैललाई नियन्त्रणमा लिएर उहाँसँग बयान लिएको छ ।

त्यस्तै राईले बुझाएको एघार हजार रुपैयाँ र त्यसको फोटोकपी तथा पैसामा लगाइएको रसायन परीक्षण गरिएको थियो ।

सबै परीक्षणबाट अख्तियारमार्फतको एघार हजार रुपैयाँ नै भैलको साथबाट बरामद भएपछि भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, स्थानीय प्रहरीको रोहबरमा भैललाई नियन्त्रणमा लिइएको छ ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले  लिइएका भैलमाथि आयोगले विशेष अदालतमा घूस लिएको भ्रष्टाचार मुद्दा चलाउने जानकारी दिनुभयो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत