प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन

२ साउन, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइपछि आइतबार सम्पन्न समितिको बैठकले पराजुलीको नाम सर्वसहमतिले अनुमोदन गरेको हो ।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुलीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

कानुन व्यवसायीबाट २०४८ कात्तिक १८ देखि तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएका पराजुली २६ वर्षपछि सर्वोच्च न्यायालयको नेतृत्वमा पुग्न सफल भएको हो ।

राष्ट्रपति कार्यालयले सोमबार बिहान पराजुलीलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराउने तयारी गरेको छ ।

पराजुली २०७० जेठ १३ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।

सांसदहरूको प्रश्नमा, कतिपय विषयमा जवाफ दिन अस्वीकार

संसदीय सुनुवाइका क्रममा पराजुलीले सांसदहरूको प्रश्नमा कतिपय विषय अदालतमा विचाराधीन भएकाले जवाफ दिन अस्वीकार गरेका थिए ।

प्रहरी महानिरीक्षक बढुवा प्रकरण र भरतपुर प्रकरण अदालतमा विचाराधीन भएकाले कानुनअनुसार हुने जवाफ दिँदै पराजुलीले भरतपुर प्रकरणले चाँडै निकास पाउने बताए ।

आफूविरुद्ध उजुरी नपर्नुलाई भने पराजुलीले आफ्नो कार्य सम्पादन सकारात्मक भएको हुनसक्ने बताए । यस्तै संसदीय सुनुवाइको संयन्त्रबारे अध्ययन गर्न पनि उनले सांसदलाई सुझाव दिँदै शक्ति पृथकीकरणको सिद्धान्त पालनामा सबै पक्ष मिलेर व्यवस्थापन गर्नुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत