नेपाल नेत्रहीन संघद्वारा ​दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण

१८ साउन ०७४, काठमाडौं । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्तीको  अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ ।

‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक दिनेश थापाको सहयोगमा ती छडी वितरण सुरु गरेको हो । चीनबाट ल्याइने सेतो छडीको प्रतिथान मूल्य रु ७०० देखि एक हजारसम्म पर्छ तर सामान्यतयाः एक वर्ष मात्र टिक्ने भएकाले नियमित वितरण गर्नु परेको सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले बताए ।

सङ्घले आगामी माघ ८ गते रजत जयन्ती समारोह र आगामी असोज २७ गते मकवापुरको हेटोँडामा दशौँ महाधिवेशन गर्दैछ । विसं २०४९ साल माघ ८ मा स्थापित सङ्घको हाल ४७ जिल्ला शाखा र तीन हजार ५०० सदस्य छन् ।

दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिए ।

दृष्टिविहीनका लागि निर्वाचनमा विद्युतीय मतदान राख्नुपर्ने, बैंकहरुमा आफैँले खाता खोल्न पाउनुपर्ने, घरजग्गा पासमा साक्षी राखेर मात्र कारोबार गर्ने व्यवस्था हट्नुपर्ने मुद्दा आफूहरुले उठाउँदै आएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीश प्रसाद अधिकारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत