रौतहटको गरुडामा खाल्डोमा डुबेर चार बालिकाको मृत्यु

२२ साउन ०७४, रौतहट । सडक बनाउँदा खनेको खाल्डोमा डुबेर रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको ज्यान गएकाे छ ।

खाल्डोमा जमेको पानीमा डुबेर शनिबार गरुडा नगरपालिका-४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको हाे ।

ठेकेदारले सडक बनाउँदा खनेको खाल्डो नपुरेकाले जमेको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएपछि ठेकेदार मध्येका एक प्रल्हाद साहलाई प्रहरीले प्रक्राउ गरेको छ ।

बालिकाहरुको शव पोष्टमार्टम गरेर आइतबार आफन्तले जिम्मा लिएका छन् ।

शव बुझेलगत्तै पीडित पक्षले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेका थिए ।

गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।

एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको छ ।

पीडित परिवारले आज मृतक बालिकाहरुको अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत