प्रादेशिक र संघीय निर्वाचन एकै चरणमा गर्ने भए विद्युतीय मेसिन प्रयोग गर्न आयोगको माग

२३ साउन ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रादेशिक र संघीय चुनाव एकै चरणमा गर्ने हो भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरेको छ ।

आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गर्दै दुबै चुनाव एकै चरणमा गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने माग गरेका हुन् ।

आयोगले चुनावका लागि आवश्यक ऐन कानुन पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आउने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावको मिति जतिसक्दो चाँडो घोषणा होस् भन्ने आयोगले चाहेको र भदौ १ मै चुनावको मिति घोषणा होस् भनिएको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री देउवाले चुनावका लागि आवश्यक ऐन कानुन र प्रतिवेदन छिट्टै पाउने बताएका छन् । ‘आयोगले प्रतिवेदन तोकिएकै टाइममा बुझाउँछ, तपाईहरुले पाइहाल्नुहुन्छ,’ देउवाले भनेका छन्, ‘ऐन कानुन पनि संसदमा गइसकेको छ । छिट्टै पास हुन्छ ।’

प्रादेशिक र संघीय निर्वाचन मंसिर पहिलो साता र ढिलोमा दोस्रो साताभित्र गरिसक्नु पर्ने निर्वाचन आयोगको जोड छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत