तातोपानी नाका खुलाउन चीन सकारात्मक, नेपाल–चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर

३१ साउन ०७४, काठमाडौं । भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नति सहितका परियोजनामा खर्च गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग स्तरोन्नति र रसुवागढीमा पक्की पुल निर्माणका लागि १ अर्ब आरएमवी अर्थात् करिब साढे १५ अर्ब रुपैयाँ खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको अर्थसचिव शान्तराज सुवेदीले जानकारी दिए ।

भूकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको ३ अर्ब आरएमवी मध्ये एक अर्ब सन् २०१६ मा खर्च भएको थियो भने सन् २०१७ मा १ अर्ब खर्च हुनेछ । बाँकी १ अर्ब सन् २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ ।

नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता-समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  तीन समझदारीपत्र मध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी एउटा हो।

सो अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थिति थियो ।

सम्झौता-समझदारी पत्रमा पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न २ अर्ब नेपाली रुपैयाँ चिनियाँ सहयोग प्राप्त हुने अर्थसचिव सुवेदीले जानकारी दिए ।

त्यस्तै हस्ताक्षर भएको तेस्रो समझदारीमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि सम्बन्धी रहेको छ।  त्यसमा कृषिको आधुनिकीकरण लगायत विषय समेटिएका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत