सप्तरीमा बाढीले बगाएका दुई जना मृत फेला परे

राजविराज । सप्तरीमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ भने एक मृत नवजात शिशुको प्रहरीले गहेरी खोला किनारमा फेला पारेको छ ।

कृष्णसवण गाउँपालिका २ स्थित गहेरी खोला किनारमा बाढीले बगाएर ल्याएको एक नवजात शिशु मृत अवस्थामा सोमबार बिहान फेला परेपछि ईलाका प्रहरी कार्यालय महुलीवाट खेटेको प्रहरीले शिशुको शव नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

यस्तै अघिल्लो साँझ खेतबाट फर्कदै गरेका बेला तरकैया खोलाले बगाएर बेपत्ता भएका डाकनेश्वर नगरपालिका ८ का ५५ वर्षीय नथुनी राम सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

बाढीले जिल्लाको ५ नगरपालिका र ६ गाउँपािलकाका १३ स्थानमा गरी २५ घर बगाएको छ भने पूर्ण रुपमा डुवानमा पर्ने घर संख्या ३ हजार ६ सय ९० पुगेको छ ।

प्रहरीका अनुसार डुवानवाट विस्थापित परिवारहरुलाई चौर, नेपाली सेनाको ब्यारेक, गाउँपालिका कार्यालय, सामुदायिक भवन तथा नजिकैका विद्यालयहरुमा स्थानान्तरण गरिएको छ ।

पाँच दिनअघि खाँडो खोलाले भत्काएको बाँध मर्मत गर्ने क्रममा बाढीले बगाएर बेपत्ता बनाएको राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षीय डोमी यादवको अवस्था भने अझै अज्ञात छ । प्रहरीले उनको खोजी कार्य अझै जारी रहेको बताएको छ ।

प्याकेजमै राहत घोषणा गर्ने सरकारको तयारी
यसैबीच, पर्यटन तथा नागरिक उड्यन मन्त्री जितेन्द्र नारायण देवले बाढी पीडितहरुका लागि प्याकेजमै राहत घोषणा गर्ने सरकारको तयारी भइरहेको बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा गृह जिल्ला आएका पर्यटन मन्त्री देवले सम्पूर्ण क्षतिको विवरण संकलन गरी बाढी पीडितहरुका लागि प्याकेजमै राहत घोषणा गर्ने सरकारको तयारी भइरहेको जानकारी दिएका थिए ।

जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले पीडितहरुको उद्धार र राहतका लागि सप्तरीका सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर आवश्यक निर्देशन दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत