कोशीको पानी छिरेर करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबान

१ भदौ ०७४, काठमाडौं । कोशीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो । यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भूभागको पानी कोसीमा गएर मिसिन्थ्यो । यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका वासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताए ।

उनका अनुसार च्यानलाइज गरेपछि कोसीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, को.बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नं. १ र २, लाई डुबानमा पारेको हो । कोसीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भूभाग डुबानमा परेको यादवले बताए ।

नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोसीमा मिसिने गरेको थियो । तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो । ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्फ (नेपाली भूभाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो,’ उनले भने ।

भारतले गत वर्ष ‘कोसी पश्चिमी तटबन्ध बाढी नियन्त्रण आयोजना’ कोसीको पानीलाई मध्यभागबाट बगाउने उद्देश्यले ब्यारेजदेखि तल तीन किलोमिटर ‘च्यानल’ खनेपछि कोसीको पानी मध्यतिर नगई पश्चिमी (नेपाली क्षेत्र) तर्फ सोहोरिएर नेपाली भूभाग डुबानमा परेको हो ।

‘भारतले कोसीको मध्यभागमा च्यानल बनाएर बीचबीचै कोसीको पानी बगाउन खोज्यो,’ यादवले बुधबार भने, ‘तर पानी मध्यतिर नगई नेपाली भूभाग भएको पश्चिमी तटबन्धमा हानियो, जसले गर्दा त्यो पानी हामीकहाँ छिर्‍यो ।’

एकातिर कोसीको पानी पश्चिमी तटबन्ध हुँदै नेपाली भूभागतर्फ सोहोरिएर आयो भने अर्कोतर्फ रम्पुरा मल्हनियाँ, तिलाठीलगायत नेपाली भूभागको पानी कोसी नदीमा नगई उल्टै कोसीको पानी छिर्न पुगेकाले बढी डुबान भएको स्थानीयको भनाइ छ ।

केही वर्षअघिसम्म कोसीको नदी सतह (रिभर बेड) पश्चिमी तटबन्ध (नेपाली सुरक्षित भनिएको भूभाग) भन्दा तल रहेकाले नेपाली क्षेत्रको पानी कोसीमा मिसिने गर्थ्यो , यसबाट नेपाली भूभाग डुबानमा पर्न पाउँदैनथ्यो ।

‘अहिले स्थिति ठीक उल्टो छ, यहाँको पानी कोसीमा जानुपर्नेमा उल्टै कोसीको पानी यता (नेपाली भूभाग) मा आइरहेछ’ हनुमाननगर कंकाल्नी नगरपालिका वडा नं. ११ का मोहन दासले भने, ‘पहिला खेतको उचाइ धेरै थियो र पानी जान्थ्यो ।’

गत साता आएको बाढीले दासको १९ कठ्ठामा लगाइएको धानबाली पूर्णरूपमा सखाप भएको छ भने उनको घर पनि भत्काइदिएको छ । हाल उनी पश्चिमी तटबन्धमा पाल टाँगेर चार छोरी, तीन छोरासहित आफ्नो परिवार शरणार्थी बन्न बाध्य भएका छन् ।

दासका अनुसार भारतले पश्चिमी तटबन्धमा रहेका ६ वटा जलद्वार समयमै मर्मत नगरेकाले पानी नेपाली भूभागमा छिरेको हो । अघिल्ला प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कोसी ब्यारेजस्थित भारतीय नियन्त्रण कक्षका अधिकारी विजय सिंहलाई स्लुइस गेट मर्मत गरिदिन आग्रह गरेका थिए । नेपालको अनुरोधलाई भारतले कुनै वास्ता नगरेको अधिवक्ता यादवले बताए ।

हनुमान नगर कंकाल्नी १४ कै हरेराम मण्डलले कोसीको पानी आफ्नो खेतमा छिरेपछि आठ कठ्ठामा लगाइएको धानखेती पूर्ण रूपमा नष्ट भएको दुखेसो पोखे । उनको खेतको आडैमा रहेका दुईवटा स्लुइस गेटबाट पानी छिरेको देखाउँदै भने, ‘पहिले यस्तो हुँदैनथ्यो, यहाँ पानी नै छिर्दैनथ्यो, भएको पानी पनि कोसीतिरै जान्थ्यो ।’

असारमा कोसीको पानी छिरेपछि आफ्नो खेतमा दोहोर्‍याएर लगाइएको धानबाली पुनः सखाप भएको भन्दै ७० वर्षीया मुसरनिया मुखियाले भनिन्, ‘वर्षात्को पानी कोसीमा मिसिन्थ्यो, अहिले उल्टै कोसीको पानी खेतमा आएर यस्तो नाश गरिदियो ।’

गत वर्ष साउन पहिलो साता पानीको बहावलाई छेकेर नेपाली भूमि डुबानमा पार्ने गरी भारतीय पक्षले तिलाठीस्थित दसगजामा बाँध निर्माण गर्न थालेपछि तिलाठीवासीले प्रतिकार गरेका थिए । यसअघि सन् २०१४ मा नेपाल र भारतीय प्राविधिकले स्थलगत अवलोकनपछि पटनामा सम्पन्न बैठकमा खाँडो र जिता खोलालाई तिलाठीस्थित दसगजा बाँधस्थल हुँदै पश्चिमतर्फ च्यानल खनी भलुवाई खोलामा खसाल्ने सहमति भएको थियो । दुवै अधिकारीबीच भएको सहमतिअनुसार काम हुन नसकेकाले पनि डुबान समस्या रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत