दोक्लाम विवादलाई भारत कुटनीतिक माध्यमबाट समाधान गर्न तयार

१३ भदौ ०७४, काठमाडौं । गत जुनदेखि शुरु भएको चीन र भुटानको सीमा क्षेत्र दोक्लाम विवादलाई भारत कुटनीतिक माध्यमबाट समाधान गर्न तयार देखिएको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेको जनाएको छ । साथै, उसले आफ्ना सेना फिर्ता गर्ने कारवाही सुरु भइसकेको पनि बताएको छ ।

‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला सातामा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती संवादमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

विज्ञप्तिमा  भनिएको छ,‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुत रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी रहनेछन् ।’

चीनले आफ्नो भूभागमा भारतीय फौजको अवैध प्रवेशप्रति आक्रोस व्यक्त गर्दै शान्तिपूर्ण समाधान चाहेको भए आफ्ना फौज फिर्ता गर्न आग्रह गरेको थियो ।

चीनको आग्रहपछि भारतले पनि आफूले वार्ताका माध्यमबाट समाधान गर्न चाहेको तर त्यसका लागि चीनले पनि सेना त्यहाँबाट हटाउनुपर्ने बताएको थियो ।

 

चीनले शान्तिपूर्ण समाधानका लागि वार्ता जारी राख्ने भारतको प्रस्तावलाई स्वीकार गरेको र भारतीय विदेश मन्त्रालयको प्रेस बक्तब्यपछि कुटनीतिक समाधानतर्फ अघि बढेको संकेत दिएको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित प्रेस ब्रिफिङका क्रममा चिनियाँ भूभागबाट भारतीय सेना पछाडि हटेको पुष्टि गर्दै चिनियाँ सेना सधैजस्तै सीमाको नियमित गस्तिमा भने रहिरहने बताएकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत