तेस्रो चरणको निर्वाचनका लागि ३ हजार ५७८ मतदान केन्द्र निर्धारण- निर्वाचन आयोग

१४ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि ३ हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको हो । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि २ हजार १६६ मतदान स्थल समेत निर्धारण गरेको छ  ।

२ नं प्रदेश अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी,  धनुषा, रौतहट र पर्सामा  १८–१८,  सिरहामा १७, बारा १६, महोत्तरी  जिल्लामा १५  वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदातालाई मतदान गर्ने अधिकार रहेको छ । उक्त निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

२ नं प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत