सरकारको काम कार्वाहीमा निर्वाचन आयोगले दखल दिइरहेको छ : उपप्रधानमन्त्री गच्छदार

१७ भदौ ०७४, राजविराज । उप प्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले आगामी मंसिर २१ गतेको चुनावलाई लक्षित गरी लगाइएको आचारसंहिता अव्यवहारिक भएको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले लगाएको आचारसंहिताको विषयमा पुनर्विचार गर्नु पर्नेमा जोड दिए ।

लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले सरकारको काम कार्वाहीमा निर्वाचन आयोगले दखल दिने गरी निर्णय गरेको बताए ।

उनले आक्रोशित मुद्रामा देशको इतिहासमा अहिलेसम्म निर्वाचनको करिब तीन महिना अगाडि आचारसंहिता नलगाइएको भन्दै रोष व्यक्त गरे ।

वर्षा र बाढीका कारण मधेशको अवस्था तहस–नहस रहेको भन्दै उनले चुनावलाई मध्यनजर गर्दै नेपाली सेना तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताए ।

उप–प्रधानमन्त्री गच्छदारले भूकम्प पीडितहरुलाई सरकारले विगतमा दिएको सुविधा जस्तै घरबार बिहीन भएका बाढी पीडितहरुलाईसुविधासहित विशेष प्याकेज ल्याउन लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसद डा. सुबोध कुमार पोखरेल, सांसद रमणी राम समेतको उपस्थिति रहेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत