राष्ट्रपतिद्वारा बकर ईदका अवसरमा शुभकामना व्यक्त

१८ भदौ ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्वका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पु¥याएको बताएकी हुन् ।

‘भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन्’ सन्देशमा भनिएको छ, ‘हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर ईद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ ।’

 उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले आज एक शुभकामना दिँदै यस पर्वले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताएका छन् ।

उपप्रधानमन्त्री गच्छदारद्वारा शुभकामना व्यक्त

त्यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री गच्छदारले एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् ।

यसैगरी बकर इद (इद–उल–जोहा)का अवसरमा राष्ट्रिय मुस्लिम आयोगले पनि सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत