नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने

२२ भदौ ०७४, काठमाडौं ।  नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ ।

बिहीबार स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बैठकले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सडकलाई यात्रुमैत्री बनाउन  भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गर्ने निणर्य गरेको हो । सो सडक रातको समयमा गत असार २५ गतेबाट  बन्द गर्ने गरिएको थियो ।

मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

उक्त बैठकले यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने, कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने र सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट,  नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरे, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत