पत्रकार महासंघका केन्द्रीय पार्षद बने राजपाका मेयर उम्मेदवार

२२ भदौ ०७४, महोत्तरी । प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको प्रमुख पदमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिप्रसाद मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा हाल महासंघका केन्द्रीय पार्षद रहेका मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसकेका र हाल महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहेका उनले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि मेयर पदमा उम्मेदवारी दर्ता गराए ।

पत्रकार महासंघका पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहेका पत्रकार मण्डललाई राजपाले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

पत्रकार चौधरीले लोकतान्त्रिक फोरमबाट दिए उम्मेदवारी

त्यसैगरी नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उम्मेदवारी दर्ता गराएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत