प्रदेश नम्बर २ मा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता

२१ भदौ ०७४, काठमाडौं । प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने चुनावका लागि उत्साहजनक रुपमा रातिसम्म उम्मेदवारी दर्ता भएको छ ।

साँझ ५ बजेसम्म दर्ताको समय ताकिएको भए पनि बुधबार रातिसम्म उम्मेदवारी दर्ता भएको हो ।

साँझ साढे ६ बजेसम्म १८ हजार २ सय जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६६२७ पदका लागि चारगुणा बढी उम्मेदवारी परेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार ५ बजेसम्म कार्यालय परिसरमा आएकाको उम्मेदवारी लिने र सबै सकिँदा रातको ११ बज्न सक्ने बताइएको छ ।

प्रदेश नम्बर २ का ८ वटा जिल्लामा वीरगञ्ज महानगरपालिकासँगै तीनवटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

यस प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

वीरगञ्ज महानगरमा १८ जना मेयर, १३ जना उपमेयर

निर्वाचनको मुख्य केन्द्रविन्दुका रुपमा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसुरुद्दिन अन्सारी,  माओवादी केन्द्रबाट रहबर अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवास्तव र राजपाबाट राजेशमान सिंहले महानगरको मेयरका लागि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्र र साना दलबाट समेत गरी १८ जना मेयर र १३ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत