चेन्नईमा सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको चेन्नईमा सम्पन्न पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ ।

बलरहरुको अलराउण्ड प्रदर्शनको सहयोगमा एसआरएम विश्वविद्यालयको मैदानमा भएको खेल नेपालले जितेको हो ।

खेलमा  सोमपाल कामी र बसन्त रेग्मीले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु पि्रमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।

नेपालका लागि सागर पुनले ३, सोमपाल र सन्दीप लामिछाने समान २ विकेट लिए । सुशील कँडेल र ललितसिंह भण्डारीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल र बसन्तको शतकीय साझेदारीको सहयोगमा ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन जोडेको थियो ।

दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।

सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने कप्तान पारस खड्का पहिलो बलमै आउट भए । सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १/१ रनमात्र बनाउन सके । सुशील कँडेल १ रनमा अविजित रहे ।

बलिङतर्फ डिन्डिगुलका अरविन्दले ४, सुरेन्द्रले २ तथा सिलाम्बरासन र रथ्नम १/१ विकेट लिए ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत अर्को महिना हङकङविरुद्ध दुई खेल खेल्दै छ । त्यसैको तयारीका लागि नेपाली टोलीले भारतमा अन्य ३ वटा अभ्यास खेल खेल्ने छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत