ट्रक त्रिशूलीमा खसालेर लाखौं रुपैयाँ असुल्ने गिरोहको प्रयास असफल

३ असोज ०७४, मकवानपुर । मालबाहक ट्रक त्रिशूली नदीमा खसालेर बिमा र कम्पनीसँग लाखौं रुपैयाँ असुल्ने एक गिरोहको प्रयास असफल भएको छ ।

करिब ४३ लाख रुपैयाँको नौ सय ६० कार्टुन टुबोर्ग बियर हेटौंडामा लुकाई त्रिशूली नदीमा ना ५ ख ७२९७ नम्बरको ट्रक खसाल्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

ट्रक साहु तथा योजनाकार हेटौंडा ३ का सन्तोष खड्का फरार रहेको मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए ।

उनका अनुसार गत भदौ २० गते मकवानपुरको मनहरी गाउँपालिका-५ बस्ने ट्रक चालक उज्वल कँडेल र योजनाकार हेटौँडा ३ का सन्तोष खत्री चितवनको इच्छा मनकामना गाउँपालिकास्थित जलबिरे गए ।

जलबिरेमा ट्रक खसाल्दा नभेटिने पत्ता लगाएपछि उनीहरूले पाँच दिनपछि भदौ २५ गते जलबिरेमा मालबाहक ट्रक दुर्घटना गराए ।

नवलपरासीको भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १४ सय कार्टुन टुबोर्ग बियर लिएर काठमाडौँ हिँडेको उक्त ट्रकबाटबाट चितवनको गीतानगरमा १२ सय कार्टुन बियर पल्टी गरी हेटौंडा ल्याई लुकाएको अवस्थामा प्रहरीले बरामद गरिसकेको छ ।

बरामद गरिएको बियरको मूल्य करिब ३७ लाख रहेको एसपी खनालले बताए ।

ट्रक दुर्घटनामा परे पनि ट्रकका चालक कँडेल भने बाँच्न सफल भए । चालक कँडेलले प्रहरीलाई दिएको बयानअनुसार उनी चोटपटक देखाउन चक्कुले आफ्नो खुट्टामा घाउ बनाएर अपस्ताल भर्ना भए । सोही दिन ट्रकका नक्कली साहु हेटौंडा ११ का निर्मल सुवेदीले इलाका प्रहरी कार्यालय मुग्लिनमा ट्रक त्रिशूलीमा खसेकाले खोजिदिन र बिमाको रकम दाबीका लागि सहयोग गरिदिन अनुरोध गरे ।

चितवन प्रहरीले यसलाई सामान्य दुर्घटनाको रूपमा लिए पनि मकवानपुर प्रहरीलाई बिमाको रकम दाबी गर्न दुर्घटना गराइएको भन्ने सूचना आएपछि प्रहरी निरीक्षक मधु थापाको कमान्डमा घटनाको अनुसन्धान सुरु भएको थियो ।

प्रहरी निरीक्षक थापाका अनुसार हाल फरार रहेका ट्रकका मुख्य साहु खड्का आर्थिक रूपमा कमजोर भएपछि उनले हेटौँडा ११ का सन्तोष खत्रीमार्फत उक्त योजना तयार पारेका हुन् ।

‘उनीहरूले ट्रकमा ४३ लाखबराबरको बियर लोड गर्ने, उक्त बियर चितवनमा आएर अर्को ट्रकमा सार्ने, बियर हेटौँडामा लुकाउने र दुई सय कार्टुन बियरसहितको ट्रकलाई त्रिशूलीमा खसाल्ने योजना बनाए’, थापाले भने, ‘यति गरेपछि ट्रकको बिमा पनि पाइने र साथमा ४३ लाखबराबरको बियर पनि आफ्नो हुने उनीहरूको सपना थियो ।’

प्रहरीका अनुसार उक्त योजनाका लागि ट्रक साहु खड्काका आफन्त सन्तोष खत्रीले चार चाख रुपैयाँ दिने प्रलोभनमा हेटौँडा ११ का निर्मल सुवेदीलाई नक्कली साहु बनाएका थिए । सम्झौताअनुसार खड्काले नरायणी यातायात व्यवसायी संघको प्रतिनिधिको रोहबरमा कागज गरेर ट्रक सुवेदीको नाममा गरिदिए । ‘त्यसपछि आँटिलो ट्रक चालकको खोजी भयो र पाँच लाख रुपैयाँ लिएर उक्त काम गर्न मनहरीका कँडेल तयार भए’, प्रहरी निरीक्षक थापाले भने । घटना घटाएपछि बियरलाई उनीहरूले हेटौँडा-१३ पदमपोखरीका मणिराज लामाको घरमा लुकाएर राखेको चालक कँडेलले स्वीकार गरे ।

मकवानपुर प्रहरी प्रमुख विकासराज खनालले पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाइने बताए । ‘हामीले हेटौंडाको पदमपोखरीमा लुकाइराखेको नौ सय ६० कार्टुन बियर बरामद गरेका छौं’, उनले भने, ‘ट्रक साहु सन्तोषको खोजी कार्य भइरहेको छ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत