को बन्ला मुख्य सचिव ? सुरु भयो दौड : प्रतिस्पर्धामा रेग्मी, अधिकारी र उपाध्याय

८ असोज ०७४, काठमाडौं । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री ५८ वर्षे सेवा अवधिका कारण आगामी ७ कात्तिकमा अवकाश हुने भएपछि  नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौड सुरु भएको छ ।

मुख्यसचिव बन्ने दौडमा ज्येष्ठताका आधारमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

रेग्मी, अधिकारी र उपाध्याय भन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि (२ कात्तिकमा) सेवानिवृत्त हुने भएकाले सुवेदी र श्रेष्ठ दुवै मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् ।

एक  उच्चअधिकारीका अनुसार मुख्यसचिवको दौडमा रहेका गृहसचिव लोकदर्शन रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो रहेको सिंहदरबारमा चर्चा छ ।

स्रोत भन्छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण उनी यो दौडमा अघि छन् ।’

एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए । यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् ।

समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् । ‘मन्त्रीहरूले जस्तोसुकै खराब काम गराउन दबाब दिए पनि त्यसको प्रतिरोध गर्दैनन् बरु सहर्ष स्विकार्छन्’, उनका एक समकालीनले भने ।

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् ।

‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने ।

अर्का प्रतिस्पर्धी ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने सम्भावना निकै न्यून छ । उनीमाथि निर्णय क्षमता कमजोर रहेको आरोप लाग्ने गरेको छ ।

मुख्य सचिवका प्रमुख दाबेदार अधिकारी र उपाध्याय मुख्यसचिव नबनेको अवस्थामा पनि ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत