यदि कसैले सहज भेटघाटको दुरुपयोग गरेको भए कारवाही हुन्छ – नख्खु कारागार प्रमुख केसी

ललितपुर । नेपाल राष्ट्र बैंकले अवैध भनेको भर्चुअल (अभौतिक) करेन्सी ‘बिट क्वाइन’ कारागार कार्यालय, नख्खु सुधार गृहमा प्रवेश गरेको हल्ला चल्न सुरु भएको छ ।

जसलाई न देख्न सकिन्छ, न छुन नै । नत हामी आफ्नो खल्तीमा नै राख्न सक्छौं । अर्को शब्दमा भन्दा नत यो क्वाईन हो, नत नोट नै । जसलाई अनलाईन करेन्सी, भर्चुअल (अभौतिक) करेन्सी र क्रिप्टोग्राफी प्रयोग गरी निर्माण गरिने भएकाले ‘क्रिप्टोकरेन्सी’ पनि भनिने रहेछ ।

यसबारेमा हाकाहाकी प्रतिनिधिले कारागार कार्यालय, नख्खु सुधार गृहका प्रमुख टेक बहादुर केसीसँग राखेको जिज्ञासामा प्रमुख केसी के भन्छन् त !

‘बिट क्वाइन’ र ‘क्यास क्वाइन’ इन्टरनेट र कम्प्युटरको माध्यमबाट हुने अबैध आर्थिक कारोबार हो भन्ने सुनिन्छ, यसबारे यहाँलाई केही जानकारी छ कि ?

पहिलो कुरा यस विषयमा मलाई त्यति जानकारी नै छैन् । यो बिट क्वाइन र क्यास क्वाइन के हो ? कसरी कारोबार हुने हो ? यो क्वाइन नै कस्तो हो ? त्यसको स्वरुप मलाई थाहा भएन ।

नख्खु कारागारका केही बन्दीहरुले जेलभित्रैबाट ‘बिट क्वाइन’ कारोबार गरिरहेका छन् भन्ने बाहिर सुन्नमा आएको छ, यसबारे यहाँको प्रतिक्रिया के छ ?

यस्ता कारोबारहरु पहिलो कुरा कानूनतः बर्जित छ, अवैध हो । हामीलाई थाहा हुने कुरा भएन । दोस्रो नख्खु कारागारका केही बन्दीहरुले जेलभित्रैबाट ‘बिट क्वाइन’ कारोबार गरेको भन्ने कुरा सुन्नमा आएकाले म सजग छु । उनीहरुका क्रियाकलापलाई निगरानी राखेको छु ।

यस कारागारमा नेटवर्किङ्ग व्यवसाय गर्ने युनिटीका व्यक्ति पनि बन्दी छ, उनीहरु अवैध कारोबार गरेकाले नै अहिले पनि जेलमा सजाय भोगिरहेका छन् । तर कतिपय सजाय भोगेर निस्किसकेका पनि छन् ।

यस विषयमा यहाँका बन्दीको इन्भल्व (सङ्लग्नता) छ, छैन् भन्ने कुरामा मलाई एक प्रकारले थाहा नै छैन् । अर्को कुरा यस्तो अवैध कारोबार जेलभित्रबाट बन्दीले गर्न सम्भव छैन् । बन्दीले कसरी गरे होलान्, मलाई पत्यार लागेको छैन् ।

पछिल्लो समय बिट क्वाइनको विषय जो मिडियामा आएको छ, केही बन्दीहरु पनि सङ्लग्न छन् भन्ने कुरामा मैले सचेततापूर्वक निगरानी बढाएको छु । तर, यहाँबाट त्यस्तो कारोबार हुन्छ, भइरहेको छ भन्ने कुरामा मलाई पत्यार लागेको छैन् । किनकि, त्यो सहज कुरा होइन् ।

तर, राज्यका सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अघि बढाएको बुझेको छु, कोही सङ्लग्न (इन्भलव) भए कानुनको दायरामा ल्याउनु पर्छ । कानुनतः कारवाही हुनेमा विश्वस्त छु ।

बन्दीहरुलाई भेट्न आउनेका लागि भेटघाटको व्यवस्था कसरी मिलाउनु भएको छ ?

यहाँ बन्दीहरुलाई बन्दीका आफन्त र तिनका नजकिकाले हप्ताको सातैदिन भेटघाट गर्न पाउँछन् । अन्य कारागारको तुलनामा ‘नख्खु कारागार’ भेटघाटका लागि सहज छ भन्ने लाग्छ । बन्दीलाई भेट्न आउनेले लामो समय नै भेटघाट र कुराकानी गर्न पाउँछन् । बाक्लो भेटघाट हुने कुराहरु छन् । यदि कोही, कसैले सहज भेटघाटको, सहजताको दुरुपयोग गरेको भए कारवाही हुन्छ, त्यस सन्दर्भमा म सचेत छु । यहाँभित्रका हरेक गतिविधिमा निगरानी पनि बढाएको छु ।

‘बिट क्वाइन’ कारोबार अवैध ठहर

नेपाल राष्ट्र बैंकले ‘बिट क्वाइन’ कारोबारलाई २०७४ साउनको तेस्रो साता अवैध रहेको ठहर गरेको थियो ।

त्यसबखत राष्ट्र बैंक उच्च स्रोतले केही दिनभित्रै विदेशी विनिमय व्यवस्थापन विभागले यससम्बन्धी परिपत्र जारी गर्ने समेत बताएको थियो ।

विश्वव्यापी रुपमा सञ्जाल फैलिएको बिट क्वाइनको कारोबार नेपालमा पनि बढ्न थालेपछि पछिल्लो समय प्रहरीले केही बिट क्वाइन कारोबारीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई कारबाही गर्नेबारे प्रहरीले राय मागेपछि राष्ट्र बैंकले अवैध ठहर गर्ने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिएका थिए ।

विदेशी विनिमय नियमित गर्ने ऐनमा कहीँ पनि ‘बिट क्वाइन’ जस्तो कारोबार आकर्षित नहुने हुँदा यसलाई राष्ट्र बैंकले यसलाई अवैध ठहर गरेको पौडेलले बताएका थिए ।

यस्तो अवस्थामा बिट क्वाइन कारोबारीलाई मुद्रा अपचलनको अभियोग लाग्नेछ । चालू आर्थिक बर्षको बजेटमा समेत सरकारले हुन्डी तथा बिट क्वाइनमार्फत् हुने मुद्रा अपचलन रोक्न आवश्यक कदम चाल्ने प्रभात भट्टराईले बिजमाण्डूमा लेखेका थिए ।

केही समय अघि मात्रै क्लोन म्याग्नेटिक कार्ड बनाएर बैंक खाताबाट तीन करोड बढी ठगी गर्ने ८ जना समातिएका थिए । त्यतिखेर ५० देखि ५ सय अमेरिकी डलर तिरेर ‘विट क्वाइन’ नामको पासवर्ड किनेर बैंक कार्डहरु बनाएर ठगी गरेको बताइएको थियो ।

ईमेज खबर डटकमले एक भिडियो क्लीप नै तयार गरी युट्युवमा अपलोड गरेको थियो ।

बिट क्वाइन कारोबार नियन्त्रण गरिने

२०७४ जेठको दोस्रोसाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका अर्थमन्त्री कृष्णबहादुर महराले आ.व. २०७४/७५ को बजेट प्रस्तुत गर्नेक्रममा हुण्डी र बिट क्वाइन मार्फत् हुने बिदेशी मुद्राको अपचलनलाई कानुन बनाएर नियन्त्रण गरिने घोषणा गरेका थिए ।

तत्कालिन अर्थमन्त्री महराको टाउको दुखाई बनेको बिट क्वाइनले नेपाली अर्थतन्त्रलाई समेत नराम्ररी प्रभावित पार्न थालिसकेको आर्थिक न्यूजडटकमले समाचार प्रकाशित गरेको थियो ।

जसमा, २०७४ जेठ १५ गते १ बिट क्वाईनको बजार मूल्य नेपाली रुपयाँ २ लाख २७ हजार ५ सय ६२ रुपयाँ ५७ पैसा रहेको उल्लेख गरिएको थियो ।

उक्त समाचार भन्छ, के हो बिट क्वाइन ?
“के हो जसलाई न देख्न सकिन्छ, न छुन नै । नत हामी आफ्नो खल्तीमा नै राख्न सक्छौं । यो एउटा ईलेक्ट्रोनिक माध्यमबाट फोन, कम्प्युटर, ल्यापटप वा कुनै एउटा मिडिया स्टोरमा मात्र राख्न सकिन्छ । अर्को शब्दमा भन्दा नत यो क्वाईन हो, नत नोट नै । त्यसैले यसलाई अनलाईन करेन्सी, भर्चुअल (अभौतिक) करेन्सी र क्रिप्टोग्राफी प्रयोग गरी निर्माण गरिने भएकाले ‘क्रिप्टोकरेन्सी’ पनि भनिन्छ ।

क्रिप्टो करेन्सीलाई डिजिटल मुद्रा पनि भन्ने गरिन्छ । बैडक नोट र सिक्काको सट्टा यसलाई ईलेक्ट्रोनिक माध्यमबाट प्रयोग गर्ने गरिन्छ । आजकाल ईन्टरनेटको माध्यमबाट सामान खरिद बिक्रिको लागि पनि प्रयोग गर्ने गरिन्छ । डिजिटल मुद्रालाई अहिले दुनियाँभर भुक्तानीको साधन पनि बनाइरहेका छन् ।

बिट क्वाईन जस्ता धेरै डिजिटल क्वाईनहरु प्रचलनमा छन् तर एउटा दुईटा देशबाट बिट क्वाइनले डिजिटल क्वाईनको प्रयोगका लागि सामान्य मान्यता पाएपनि प्रायः देशहरुमा डिजिटल करेन्सीको कारोबार वैधानिक मानिदैन । अन्य माईनिङ हुदै गरेका क्वाईनहरुको प्रयोग पनि बढ्दो छ ।

१९९० देखि डिजिटल करेन्सीको सरुवात भए पनि २००९ मा बिट क्वाईनको शुरुवात भएपछि यसको प्रयोग बढेको थियो ।

क्रमशः सन् २०११ मा लाईट क्वाईन र नेम क्वाईन, २०१२ मा पेर क्वाईन र स्वीफ्ट क्वाईन, २०१३ डग क्वाइन, मास्टर क्वाईन, ईमर क्वाईन प्राईम क्वाईन, र रिप्पल क्वाईन २०१४ मा फ्याक्टम क्वाईन, भर्ट क्वाइन, औरोरा क्वाईन, ब्लाक क्वाईन, ब्रस्ट क्वाईन, क्वाइने क्वाईन, डास क्वाईन, क्रिप्टो नोट क्वाईन, अस्ट्रो क्वाईन, माजा क्वाईन, मोनेरो क्वाईन, एन एक्स टि क्वाईन, रेड क्वाईन, पोट क्वाईन, टिट क्वाईन र सेनेरियो क्वाईन, २०१५ मा ईथेरियम क्वाईन, २०१६ मा जेड क्यास क्वाईन र सफेक्स क्वाईन २०१७ मा टोर क्वाईन र ईक्वी नोक्स गरि ३३ वटा क्वाईन प्रचलनमा छन् ।

मार्केट क्यापिटलाईजेसनको आकडाबाट हेर्ने हो भने पहिलोमा बिट क्वाईन, दोस्रोमा ईथेरियम र तेस्रोमा रिप्पल पर्दछन् । बिट क्वाईनको मार्केट क्यापिटलाईजेसन १९ बिलियन, ईथेरियमको ४ बिलियन र रिप्पलको १ बिलियन भन्दा माथि रहेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यस्ता क्वाईनको कारोबार वैधानिक मानिदैन तर भित्री रुपमा यसको कारोबार भइरहेको पाइएको छ ।”

सबैजसो देशका नियामक निकायले बिट क्वाइनलाई गम्भीरतापूर्वक लिँदै आएका थिए । तर, जापानले यसलाई अन्य मुद्रासरह मान्यता दिने निर्णय गरेको थियो । त्यस लगत्तै यसको भाउ ह्वात्तै बढ्यो ।

सन् २०१३ मा उचालिएर ११०० डलरसम्म पुगेको बिट क्वाइनको मूल्य अर्को साल सन् २०१४ मै तल झरेर २०० डलर भएको थियो । गत मे २४ मा यसको मूल्य अहिलेसम्मकै उच्च २४२० डलर पुगेको बिजमाण्डूमा प्रभात भट्टराईले लेखेका छन् ।

कस्तो होला अनुसन्धान, गर्लान् त गृहमन्त्री शर्माले दोषीलाई कारवाही ?

पूर्व उर्जामन्त्री जनार्दन शर्मा वर्तमान सरकारको गृहमन्त्रीको कुर्चीमा आसिन छन् ।

गृहमन्त्री हुँदा लोडसेडिङ्ग अन्त्य गरेर आमनेपाली जनतामाझ बधाई र वाहीवाहीका पात्र बनेका गृहमन्त्री शर्मालाई हालै नख्खु कारागारका एक बन्दीले पत्र पठाई विट क्वाइनका कारोबारीलाई कारवाही गर्न माग गरिएको खुलासा भएको छ ।

नख्खु कारागामा बन्दी जीवन बिताइरहेका ती बन्दीले विट क्वाइनका कारोबार गर्ने नख्खु कारागारका बन्दीहरु र यसमा सङ्लग्न सरकारी कर्मचारीहरुलाई समेत कारवाही गरियोस् भन्दै नामै उल्लेख गरेर मन्त्री शर्मालाई पत्र पठाइएको स्रोतले बताएको छ ।

स्रोतकाअनुसार ती बन्दीले गृहमन्त्री शर्मालाई पठाइएको पत्रमा गृह मन्त्रालयका केही कर्मचारीको नाम समेत जोडिएको छ ।

ती बन्दीले गृहमन्त्री शर्मालाई पठाएको पत्रमा नख्खु कारागारमा हाल कार्यरत केही कर्मचारी र हाल नख्खु कारागारमै बन्दी जीवन बिताइरहेका तत्कालिन युनिटी लाईफ इन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री लगायतले बिट क्वाइनको कारोबार गरिरहेको भन्दै उनीहरुलाई कारवाही गर्न माग गरिएको बुझिएको छ ।

को हुन् युनिटीका विष्णु
प्रहरीले पक्राउ गर्नु अघि युनिटी लाईफ इन्टरनेशनलका प्रबन्ध निर्देशक रहेका विष्णुबहादुर क्षेत्री नेटवर्किङका माध्यमबाट सर्वसाधारणको करोडौं रुपैंया ठगी गरेको आरोपमा इन्टरपोलको रेडकर्नर सूचीमा रहेका व्यक्ति हुन् ।

तत्कालिन युनिटी लाईफ इन्टरनेशनलका प्रबन्ध निर्देशक क्षेत्री र उनका दाजु कृष्ण क्षेत्रीलाई २०६८ माघ २ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलको रेडकर्नर नोटिसमा राखिएको थियो ।

युनिटी लाईफमा प्रबन्ध निर्देशक बिष्णु बहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री थिए । युनिटीले देशभरका ३ लाख ६६ हजार ३ सय ४२ सर्वसाधारणलाई झुट्टा आश्वासन दिएर ३ अर्ब ७९ करोड ९८ लाख ७० हजार एक सय ३ रुपैंया ठगी गरेको थियो ।

विष्णु र कृष्णका विषयमा ललितपुर जिल्ला अदालतले २०७० चैत १७ गते फैसला गर्दै दुबै जनालाई तीन/तीन बर्ष कैद र १ करोड ५ लाख २६ हजार २ सय ७६ रुपैंया जरिवाना र जरिवाना बराबरकै रकम जाहेरवालालाई तिराउन फैसला गरेको थियो ।

फेसबुक स्टाटसले पक्राउ गराएको थियो क्षेत्रीलाई
नेपाल प्रहरीले विष्णुबहादुर क्षेत्री र उनका दाजु कृष्ण क्षेत्रीलाई फेसबुक स्ट्याटसकै आधारमा पक्राउ गरेको थियो ।

उनका दाई कृष्ण क्षेत्रीले फेसबुकमा दिनुहँ आफ्नो भाइ विष्णु बहादुर क्षेत्रीलाई गोली हानेर मारेको फोटो राखेपछि प्रहरी आक्रान्त नै बनेको थियो ।

‘त्यो स्ट्याटसले त हामीलाई चुनौती दिएजस्तो भएको थियो,’ तत्कालिन अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सबेन्द्र खनालले त्यतिबेला भनेका थिए, ‘त्यसपछि गहिरो अनुसन्धान सुरु ग¥यौं ।’

स्रोतका अनुसार कृष्ण क्षेत्रीले फेसबुकमा स्ट्याटस राखेको ‘लोकेसन’का आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको र त्यही क्रममा उनीहरु भारतमा रहेको तथ्य फेला परेको थियो ।

तत्कालिन प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजीपी) बिज्ञानराज शर्माका अनुसार महाशाखाबाट खटिएका प्रहरीले क्षेत्री दाजुभाईलाई भारत उत्तराञ्चल प्रहरीको मद्दतमा कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नु अघि क्षेत्री दाजुभाईद्वय उत्तराञ्चल प्रदेशमा व्यावसायिक माछा पालन गरेर बसेका थिए ।

(केही कर्मचारीकै मिलेमतोमा नख्खु कारागारमा रहेका केही बन्दीहरुले अवैध ‘बिट क्वाइन’ कारोबार गरेको भन्ने नामावली हाकाहाकीलाई स्रोतबाट प्राप्त भए पनि अनुसन्धानलाई मध्यनजर गर्दै ती नाम गोप्य राखिएको छ ।)

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत