उपेन्द्र यादवको दोहोरो चरित्र रहेको सांसद अभिषेकको आरोप

१७ असोज ०७४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेकप्रताप शाहले पार्टी अध्यक्ष उपेन्द्र यादवको दोहोरो चरित्र रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शाहले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी नेतृत्वबाट आफ्नो त्याग र बलिदानलाई ओझेलमा पार्दै आसेपासे, व्यापारी र गैरराजनीतिक चरित्रका व्यक्तिहरुलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् ।

 

पार्टी अध्यक्ष उपेन्द्र यादवको दोहोरो चरित्र, मधेश आन्दोलनलाई माध्यम बनाएर मधेशी नेताहरुले व्यक्तिगत सम्पत्ति मात्र बढाइरहेको, मधेश शब्द ती नेताहरुका लागि दोहन गर्ने गतिलो स्रोत बनेको, शहीद परिवारलाई राहतको प्याकेजसम्म दिन नसकेकोलगायत आरोप शाहले विज्ञप्तिमा लगाएका छन् ।

‘मुलुकमा भएका मधेश आन्दोलनमा ११ वर्षदेखि इमानदारितापूर्वक भूमिका निर्वाह गर्दै आएकामा पार्टी नेतृत्वबाट आफ्नो त्याग र बलिदानलाई ओझेलमा पार्दै आसेपासे, व्यापारी र गैरराजनीतिक चरित्रका व्यक्तिहरुलाई मात्र प्राथमिकता दिइरहँदा पीडाबोध भएको छ,’ शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा शाहले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टी प्रकट गरेका छन् । समानुपातिक सांसद मनोनित गर्ने क्रममा पैसा लिने, पैसा नभए उनीहरुको नाममा रहेको जग्गा बिक्री गराई पैसा असुल्नेजस्ता क्रियाकलाप विगत चार वर्षदेखि आफ्नै आँखाले देखिरहेको उनले बताएका छन् ।

स्रोतका अनुसार दुवै संविधान सभामा फोरम नेपालका तर्फबाट कपिलवस्तु २ बाट निर्वाचित सांसद शाह आफ्ना पाँच हजारभन्दा बढी समर्थकहरुका साथ कांग्रेस प्रवेश गर्दैछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत