एमाले, माओवादी केन्द्र र नयाँ शक्तिद्वारा चुनावी घोषणापत्र बनाउन कार्यदल गठन

१८ असोज ०७४, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी तालमेल गर्ने सहमति गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।

पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले एमाले महासचिव इश्वर पोखरेल नेतृत्वको ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल बनाएको हो ।

कार्यदलमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् । त्यसैगरी एमालेका महासचिव पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेको एमाले उपाध्यक्ष गौतमले जानकारी दिए ।

कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल साथै नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन् ।

पार्टी एकता संयोजन समितिले समानुपातिक तर्फको उम्मेदवारी भने आ-आफ्नै दलको तर्फबाट दिने निर्णय पनि गरेको छ ।

आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनु पर्ने हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत