चिकित्सा शास्त्रको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकले हात पारे

काठमाडौं । तीन अमेरिकी वैज्ञानिकले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

मानव शरीरले घाम उदाउँदा, आकाशमा रहँदा र अस्ताउँदा कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरेका तीन वैज्ञानिकले नोबेल पुरस्कार जितेका हुन् ।

वैज्ञानिकहरू जेफरी सि हल, माइकल रोबास र माइकल डब्ल्यु योङले मानव शरीरले काम गर्ने ‘सिकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका थिए ।

ती तीन वैज्ञानिकले फलफूलका झिंगाको ‘अग्र्यानिज्म’लाई नमूना बनाएर मानव शरीरको जैविक घडीको लय नियन्त्रण गर्ने वंशाणुमाथि गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हल, रोबास र योङलाई ‘मोलेक्युलर मेकानिज्म कन्ट्रोलिङ द सर्काडियन रिद्म’का लागि दिइएको सोमबार नोबेल पुरस्कार समितिले जनाएको हो ।

समितिका अनुसार उनीहरूले फलफूलमा लाग्ने झिंगाको जैविक क्रियाकलापलाई नमुना बनाएर हाम्रो शरीरको दैनिक जैविक घडी वा लय नियन्त्रण गर्ने वंशाणु (जिन) पहिल्याउन सफल भएका छन् ।

अनुसन्धानमा जैविक घडी नियन्त्रण गर्ने वंशाणुमा रहेको प्रोटिन राति कोषमा संग्रह हुने र दिउँसो घट्ने पत्ता लागेको थियो ।

सबै वनस्पति तथा प्राणीमा हुने ‘सर्काडियन रिद्म’ जसलाई जैविक घडी पनि भनिन्छ, ले सबैको सुत्ने, बानी व्यहोरा, हर्मोन स्तर, शरीरको तापक्रम र पाचन क्रियामा प्रभाव पर्छ ।

नोबेल पुरस्कारको रकम ११ लाख अमेरिकी डलर छ ।

सन् १९४५ मा न्युयोर्कमा जन्मेका जेफरी सि हलले सन् १९७१ मा सियाटलको वासिङटन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

माइकल रोबास भने सन् १९४४ मा कान्सासमा जन्मिएका हुन् । उनले क्याम्ब्रिजको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट सन् १९७० मा विद्यावारिधि गरे ।

सन् १९४९ मा मयामीमा जन्मेका माइकल डब्ल्यु योङले सन् १९७५ मा अस्टिनको टेक्सास विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत