चिकित्सक संघको आन्दोलनका कार्यक्रम फिर्ता

१३ असोज ०७४, काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा चिकित्सक संघ र सरकारी पक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सकको पूर्णसुरक्षाका लागि जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मन्त्रिपरिषदको निर्णय पनि सच्चिएर आएकाले आन्दोलन फिर्ता लिएको जानकारी दिए ।

उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले दिनुपर्ने सरकारको निर्णयविरुद्ध डाक्टरहरु असोज २ गतेदेखि देशभरका अस्पताल, क्लिनिक र नर्सिङहोम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएपछि चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन दबाव बढेको थियो ।

न्यूयोर्क भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री देउवाले चिकित्सकहरूलार्इ वार्तामा बोलाएका हुन् । वार्तामा प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत