गौचनको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन, विप्लवले पनि गरे दुःख व्यक्त

 

२५ असोज ०७४, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यारा पत्ता लगाउन र शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन भएको छ ।

बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएका गौचनलाई उनका परिवार र निर्माण व्यवसायीहरुले सरकारसँग गौचनको हत्यारा पत्ता लगाउन र शहीद घोषणा गर्न माग गर्दै बुधबार बिजुलीबजारबाट बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनको सोमबार दिउँसै गोली हानी हत्या भएको थियो ।

गौचनको हत्याप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शरद गौचनको हत्याप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै राज्यको निरीहताका कारण गम्भीर प्रकृतिको घटना भएको भन्दै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।

‘राज्यको जिम्मा लिएका व्यक्तिहरु देश लुट्ने भ्रष्टाचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड डर्ने कार्यमा लिप्त भएकाले जिम्मेवार नागरिकहरुले यो दुःखद् घटना बेहोर्नु परेको’, विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

बम राख्ने काममा पार्टीको संलग्नता नभएको प्रष्टोक्ति

यसैबीच, विप्लवले सांग्रिला होटलका क्यासिनो सञ्चालक राजेन्द्र बजगाईको घरमा बम राख्ने काममा पार्टीको कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् ।

क्यासिनो सञ्चालक बजगाईले नेकपाका प्रवक्तालाई भेट्न नमानेपछि आफ्नो घरमा बम राखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएलगत्तै विप्लवले पार्टीको कुनै संलग्नता नभएको प्रष्ट पारेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत