एमालेले आयोगमा बुझायो डमी सूची : ७ दिनभित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने

२९ असोज ०७४, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन साँझ ५ बजेसम्मको समय तोकेको भए पनि एमालेले रातिसम्म उम्मदेवारहरुको सूची बनाउन नसक्दा डमी सूची बनाएर दर्ता गराएको छ ।

केन्द्रीय संसदका ११० र प्रादेशिक संसदका २२० गरी ३३० जना समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनु पर्ने भएता पनि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले सूची तयार पार्न नसक्दा डमी सूची  दर्ता गराएको हो ।

एमालेले आइतबार उम्मदेवारहरुको सूची बनाउन नसकेपछि कृष्णगोपाल श्रेष्ठमार्फत आयोगमा एउटा डमी सूची दर्ता गराएको हो ।

‘उम्मेदवारी छनोट कार्य एकदमै भद्रगोल भयो, त्यसैले आज डमी लिष्टमात्रै बुझाइएको छ, अबको ७ दिनभित्र पार्टीले बैठक बसेर उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने छ’ एमालेका एक केन्द्रीय नेताले भने ।

एमाले स्रोतका अनुसार नेता कृष्णगोपाल श्रेष्ठमार्फत निर्वाचन आयोगमा बुझाइएको ‘डमी लिष्ट’ मा पार्टीका शीर्ष नेताहरुको नाम छैन । ठूला नेताहरु सबै प्रत्यक्ष चुनाव लड्ने एमालेले निर्णय गरेको छ ।

स्रोतकाअनुसार महासचिव ईश्वर पोखरेलको व्यवस्थापकीय कमजोरीले पार्टी अध्यक्ष केपी ओली आइतबार दिनभरि बालकोटस्थित निवासमा पसिना काढ्न बाध्य भए ।

 

माधव नेपाल समूहले उम्मेदवार छनोटमा अध्यक्ष ओली र महासचिव ईश्वर पोख्रेलले एकलौटी गरेको आरोप समेत लगाएका छन् ।

जिल्ला र क्षेत्रबाट आएका नामहरुको टुंगो लगाउन सचिवालयको बैठकसमेत नडाकिएको र पदाधिकारीलाई समेत बाइपास गरेर कोटरीका मानिसमार्फत् सूची तयार पार्ने प्रयास भएको भन्दै नेपाल पक्षले आयोगमा बुझाइएको सूचीलाई नमान्ने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत