पशुपति गुठीको स्वामित्वमा रहेको करिब ३५० रोपनी जग्गा फेला परेन

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि करिब ३५० रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेको जग्गा फेला पार्न सकेको छैन ।

साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।

लेखा समितिले चित्रबहादुर केसीको अध्यक्षतामा गठित २१ सदस्यीय छानबिन समितिले विभिन्न २१ विषय र क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो ।

केसीले समितिलाई बुझाएको प्रतिवेदनमा ‘मौजुदा कार्यालयहरूको लगतको जग्गा पनि विभिन्न व्यक्ति तथा संस्थाबाट अतिक्रमण भएकाले कोषले उल्टै मुद्दामामिलासमेत खेप्नुपरेको’ उल्लेख छ ।

समितिले गुठी तैनाथी जग्गाको संरक्षण नगरेको पनि उल्लेख गरेको थियो । तैनाथीका पशुपति क्षेत्रभित्र र बाहिरका जग्गाको सदुपयोगका सम्बन्धमा कुनै योजना बनाएको देखिएको थिएन ।

‘नेपालको इतिहाससँग सम्बन्ध राख्ने जोसमनि सम्प्रदायको मठ रहेको मित्रपार्कको जग्गा सदुपयोगका लागि कुनै योजना तयार गरेको छैन । उक्त जग्गा व्यक्ति विशेषले उपभोग गरिरहेको अवस्था छ’, प्रतिवेदनमा भनिएको छ ।

संसदीय समितिले १२ वर्षअघि हराएको ३ सय ५० रोपनी जग्गा खोज्नू, लगतको जग्गा पनि व्यक्ति र संस्थाले अतिक्रमण गरेको र मित्रपार्कको मठ रहेको जग्गा दुरुपयोग भएकोजस्ता विषयमा कोषको ध्यानाकर्षण गराए पनि अझै कुनै उपलब्धि हुन सकेको छैन ।

कोषले दुई वर्षअघि कोषको सञ्चालक परिषद्का सदस्य नवलकिशोर चौधरीको अध्यक्षतामा नापी र मालपोतका प्रमुख र परिषद्का दुई सदस्यसहितको एक समिति गठन गरेको थियो ।

पशुपतिनाथको सम्पत्ति छानबिन गरी अभिलेख तयार पार्न बनेको उक्त समितिले पनि कुनै काम गर्न सकेन । समितिका अध्यक्ष चौधरीले दुई वर्षअघि समितिका लागि सचिवालय र कर्मचारी मागे पनि नपाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत