वडाध्यक्षसहित १६ जना जुवा खालबाट पक्राउ, एक लाख १८ हजार रुपैयाँ बरामद

३१ असोज ०७४, चौतारा । प्रहरीले बलेफी गाउँपालिका– ६ का वडाध्यक्ष चित्रवहादुर तामाङसहित १६ जनालाई अँधेरीस्थित एक जुवाखालबाट गएराति पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले वडाध्यक्ष तामाङसहित १६ जनालाई सोमबार राति जुवाखालबाट रंगेहात पक्राउ गरेको हो । जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद भएको छ ।

अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि वास्तविक नाम नभनेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । वडाध्यक्ष तामाङसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत