आज यमपञ्चकको दोसो दिन कुकुर तिहार मनाइदैँ

१ कार्तिक ०७४, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक)को दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिई फूलका माला लगाई देशैभरी कुकुर तिहार मनाइँदैछ ।

यमपञ्चका दोस्रो दिन आज कुकुरलाई फूलमाला लगाई, मिठा मिठा खानेकुरा खुवाई खुशी बनाई कुकुर तिहार मनाइएको हो । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वासका साथ कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । अहिले घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

आजको दिन बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।

पाँच दिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी पाँचै दिनलाई यमपञ्चक भनिएको हो । खासगरी बहुलदेवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले चाड मनाइन्छ ।

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत