सरकारमा माओवादी : प्रत्यक्ष उम्मेदवार मनोनयनको दिनसम्म !

१ कार्तिक ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पहिलो चरणको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको दिनसम्म माओवादी मन्त्रीहरु सरकारबाट नहट्ने बताएकी छन् ।

मंगलबार साँझ प्रवक्ता भुसालले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी विहीन बनाए पनि निर्वाचन सुनिश्चितताका लागि सरकार नछाड्ने निर्णय लिइएको बताएकी हुन् ।

‘निर्वाचन आयोगले प्रत्यक्षतर्फ ५ कात्तिकमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ,’ प्रवक्ता भुसालले भनिन्, ‘निर्वाचनको सुनिश्चितताका लागि पहिलो चरणको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको दिनसम्म सरकारबाट हट्दैनौं ।’

निर्वाचन रोकिन सक्ने माओवादीको आशंका

सर्वोच्चले सरकारको प्रभावमा परेर निर्वाचन आयोगलाई अलग-अलग मतपत्र छाप्न निर्देशन दियो भने आयोगले अहिले गरिरहेको काम प्रभावित हुने र निर्वाचन रोकिन सक्ने माओवादीको आशंका छ ।

राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवैको मतपत्र अलग-अलग हुनुपर्ने माग दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उनको रिटमाथि सोमबार दुई जना न्यायाधीशको बेञ्चमा बहस थियो । साथै, सर्वोच्चले सोमबार नै आयोगका पदाधिकारी लगायतलाई समेत बोलाई राय लिने काम गरेको थियो ।

निर्वाचन आयोगको निर्णयविरुद्ध राजपा नेता शुक्ला

निर्वाचन आयोगले भदौ २२ मा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दुई वटा मतपत्रमै निर्वाचन गराउने गरी निर्णय गरेको थियो ।

जसमा प्रत्यक्ष तर्फका एउटै र समानुपातिकतर्फ पनि एउटै मतपत्रमा मतदान गर्ने गरी मतपत्र बनाउने निर्णय गरेको थियो ।

आयोगको यस्तो निर्णयले प्रदेश र केन्द्रका कुन-कुन हुन् भनेर एकै स्थानमा हुँदा मतदातालाई छुट्ट्याउन अप्ठ्यारो हुने दाबी गर्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले छुट्टाछुट्टै मतपत्र बनाउनुपर्ने मागसहित रिट दर्ता गराएका थिए ।

यस विषयमा सर्वोच्चले आज बुधबार निर्णय दिने बताइएको छ ।

निर्वाचन रोकिने सूचना पाएपछि सरकारबाट नहट्ने माओवादी निर्णय

एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टी एकता संयोजन समितिसँगको छलफलपछि सरकार छाड्ने निष्कर्षमा पुगेको माओवादी केन्द्र अन्नतः सरकारबाट नहट्ने निर्णयमा पुगेको छ ।

मंगलबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी गठबन्धन र सरकार दुवैतिर नबिसदिन र आफूलाई सहज बनाइदिन आग्रह गरेसँगै सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी निर्वाचन सर्ने सूचना  पाएसँगै सरकार नछाड्ने निर्णयमा पुगेको गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताएका छन् ।

गृह मन्त्रालयमा मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले माओवादी सरकारबाट हटेपछि सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने भन्ने  निर्वाचन आयोगबाट सूचना पाएपछि सरकारमा रहने निर्णय लिइएको बताएका हुन् ।

‘तपाईहरुलाई खास बोलाएको सरकार छोडने विषयमा जानकारी गराउनलाई हो, तर निर्वाचन सार्ने प्रपञ्चका बारेमा सूचना पाएपछि अब सरकारबाट बाहिरिदैनौं,’ पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले सरकार छोडने तयारी थियो तर चुनाव सार्ने कुरा आएपछि अब हामी सरकार छोडदैनौं ।’

सरकारमा रहिरहने नैतिकता हुन्छ त ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ‘मुख्य नैतिकता निर्वाचन गराउने हो’ भन्दै मन्त्री शर्माले चुनाव कुनै पनि हालतमा सार्न नदिइने कुरामा जोड दिए ।

गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर सरकार छाडेको जानकारी दिनुअगावै निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने सर्तमा सरकारलाई दिइँदै आएको पार्टीको समर्थन कायम राख्दै आफ्ना मन्त्री फिर्ता बोलाउने गरी प्रधानमन्त्रीलाई आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाइएको पत्रको मस्यौदा तयार गरेको माओवादी केन्द्रले निर्वाचन रोकिने सूचना पाएपछि सरकारबाट नहट्ने निर्णय लिएको जानकारी पनि गराए ।

प्रधानमन्त्री देउवालाई पठाउन तयार पारेको पत्र देखाउँदै मन्त्री शर्माले निर्वाचन सार्ने षड्यन्त्र थाहा पाएर सरकार छाड्ने निर्णयमा पुगे पनि हाललाई उक्त निर्णय फिर्ता नहुने निष्कर्षमा पुगेको बताए ।

‘चुनाव सारिँदैछ भन्ने सूचना आएपछि पार्टी जनताप्रति जिम्मेवार भई सरकार छाड्ने निर्णयबाट पछि हटेको हो ।’ पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले भने, ‘मन्त्रीको लोभले सरकार नछाड्ने भनेको होइन, सरकारले निर्वाचन हुने ग्यारेण्टी गर्दछ भने हामी अहिले नै सरकार छाड्न तयार छौं ।’

 

  •  
    24
    Shares
  • 24
  •  
  •  
  •  

तपाइको मत