चार दिवसीय छठ मंगलबारबाट सुरु, आज बेलुका व्रतालुहरुले खरना मनाउने

८ कार्तिक ०७४, रौतहट । जिल्लामा छठ पूजा तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय छठ मंगलबारबाट सुरु भएको छ ।

छठ पर्वमा पुरोहित, पुजारी वा पण्डितको आवश्यकता नै पर्दैन । अन्य चाडपर्वहरुमा देवी देवताको मूर्ति वा प्रतिमालाई पुजा गर्ने चलन रहे पनि छठ पर्वमा भने अस्ताउँदो र उदय सूर्यलाई प्रत्यक्ष हेेरेर नै व्रतालुहरुले अर्घ दिने गर्छन् ।

पृथ्वीलाई जीवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउदो मात्रै होइन अस्ताउँदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।

यस पर्वमा व्रतालुहरुले स्वयम् नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन् ।

छठ पूजाको पहिलो दिन व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गर्छन् । स्थानीय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।

दोश्रो दिन अर्थात आज बेलुका व्रतालुहरुले खरना मनाउने छन् । जसमा, व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।

यस अवधिमा व्रतालुहरु पानी समेत नपिएर सूर्य भक्तिमा लीन भई बस्छन ।

बिहीबार व्रतालुहरुले बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिनेछन भने शुक्रबार बिहान संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य-देव) लाई विधि पूर्वक अर्घ्य दिएपछि चार दिनको यो पर्व सकिन्छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत