विर्तामोडमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

११ कार्तिक ०७४, झापा । जिल्लाको विर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर झापा अर्जुनधारा नगरपालिका ५ का नरेश थापाको मृत्यु भएको छ ।

अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युको विषयलाई लिएर मृतक बालकका आफन्त र स्थानीयबासीले विर्तामोडमा गरेका प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर थापाको मृत्यु भएको हो ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले शुक्रकार विर्तामोड बन्दको घोषणा गरेका थिए ।

शुक्रबार मृतक बालकका आफन्त तथा स्थानीयबासीले शनिश्चरे रोडबाट निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो ।

प्रहरीको अवरोधलाई छिचोलेर र्याली अगाडि बढ्न खोज्दा सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सोहीक्रममा प्रहरीको गोली लागेर घाइते भएका थापालाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्याइएको भए पनि अस्पतालको आकस्मिक कक्षमा कार्यरत कर्मचारी तारा दहालले थापाको मृत्यु भएको जानकारी दिइन् ।

प्रहरीका अनुसार कर्फ्युका बेला प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गरेकाले बाध्य भएर गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका चार जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

गिरीले घाइतेहरु राजगढ झापाका सुनील पाठक, मेचीनगर नगरपालिकाका अशोक बस्नेत, झापा दुर्गापुरका नवराज कोइराला तथा अर्जुनधारा नगरपालिकाका पूण्यप्रसाद लुईंटेलको विएण्डसीमा उपचार भइरहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बालक हत्यामा निस्केको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरेको छ । केसीले शुक्रबार दिउँसो १ः३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत