शोकमा डुब्यो सप्तरी, मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन 

१२ कार्तिक ०७४, सप्तरी । राजविराजबाट काठमाडौं जाँदै गरेको बस शनिबार बिहान धादिङ्गको त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा परेर २७ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको छ ।

आइतबार २४ जनाको शव सप्तरी ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । नदीको भेलमा बेपत्ता बनेका सप्तरीको तिलाठीका पुजा झा र उनका ५ वर्षीय छोरा प्रतिक साथै चालक सन्तोष चौधरीको खोजी कार्य जारी रहेको धादिङ्ग प्रहरीलाई उदृत गर्दै सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिएका छन् ।

शव बुझेसँगै आफन्तले आ-आफनो संस्कृति र रीतिरिवाज अनुसार अन्त्येष्टि र काजक्रिया गर्न थालेका छन् ।

यता, दुर्घटनाले पूरै सप्तरीवासी शोकाकुल छन् । छठ पुजाको समाप्तिपछि ज्वाई सञ्जिवसँगै हाँस्दै खेल्दै शुक्रबार साँझ घुम्न काठमाडौंका लागि रात्री बसबाट बाईबाई गर्दै विदा भएका छोरा–छोरी, भाउजु, नाती र सबैको मृत शरीर आईतबार घर आँगनमा ल्याइएपछि राजविराज नगरपालिका १६ वोरियाका मदन झा मुर्छा परे ।

निस्किने बेलामा बस पार्कसम्मसँगै गएकाहरु तीन दिनपछि प्लाष्टिकमा बेरिएको मृत शरीर घर आँगनमा ल्याइएपछि झासँगै परिवारका अन्य सदस्य र आफन्त पनि मुर्छा परे ।

बस दुर्घटनामा मृत्यु भएकाहरुको प्लास्टिकमा पोका पारेर ल्याइएको शव ।

मुर्छितलाई कोही पानी छर्कन थाले भने कोही मोटरसाईकल लिएर स्वास्थ्यकर्मी बोलाउन कुदे । यस्तो हृदयविदारक दृष्य देखेर सबैमा रुवावासी नै चल्यो ।

त्रिशुली नदीमा भएको बस दुर्घटनामा परेर झा परिवारका ८ सदस्यको ज्यान गएको थियो । झाका छोरा आदित्य, छोरी सीमी, पुजा, भाउजु चन्द्रावतीका साथै तिलाठी निवासी ज्वाई सञ्जित उनका कान्छा भाई मन्जित, नाती अभिनव र प्रतिक गरी ८ जनाको दुर्घटनामा ज्यान गएको थियो ।

तिलाठीमा पनि यस्तै मार्मिक दृष्य देखियो । एम्बुलेन्समा सञ्जितसहित एकै परिवारका ५ जनाको मृत शरीर ल्याइएपछि गाउँभरि रुवावासी चल्यो ।

दुर्घटनामा २ छोरा २ नाती र बुहारी गरी ५ जना गुमाएका ८० वर्षीय पिता रामानाथ पनि मुर्छित हुने र वौरिने गर्न थाले । उनलाई सम्हाल्न छिमेकीहरुलाई हम्मेहम्मे परेको थियो ।

दुर्घटनामा परेर निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराज नगरपालिका लगायत अधिकांश स्थानीय निकायले आज मातहतका सबै कार्यालय बन्द गरेका छन् ।

यस्तै शोक मनाउन जिल्लाभरिका शिक्षण संस्था बन्द गरिएका छन भने जिल्लाका प्रमुख बजारहरु पनि सुनसान देखिएका छन् ।

मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन

धादिङ्गको त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आइतबार साँझ राजविराजमा दीप प्रज्वलन गरिएको छ ।

सप्तरी युथ नेपालको अगुवाइमा गजेन्द्र चोकमा गरिएको दीप प्रज्वलन, मौन धारण तथा मार्चपासमा प्रमुख जिल्ला अधिकारी, मेयर, उप-मेयरसहित सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उप-प्रमुख साधना झा, जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित बिभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणहरुको व्याप्क सहभागिता रहेको थियो ।

मैनबत्ति प्रज्जवलन गरी एक मिनेटको मौन धारण गर्दै गजेन्द्र चोकदेखि जनआन्दोलन चोकसम्म मैनबत्ती बालेर मार्च पास समेत गरिएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत