बारामा माओवादी केन्द्रकी ज्वालाविरुद्ध चन्द्रकान्तको उम्मेदवारी

१६ कार्तिक ०७४, बारा । जिल्लाको कलैया उपमहानगरपालिका ३ का स्थायी वासिन्दा उमेश भन्ने चन्द्रकान्त प्रसाद यादवले नेकपा माओवादी केन्द्रका प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार ज्वालाकुमारी साहविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी एकताको मर्मअनुसार ज्वाला साहले पार्टी बनाउन भन्दा पनि गुटमा रमाउने र अवसरवादीहरुसँग मिलेर पुराना र इमानदार नेता कार्यकर्ताको मानमर्दन गर्ने गरेको आरोप लगाउँदै वागी उम्मेदवार चन्द्रकान्त यादवले ज्वाला साह पार्टी एकताको मूल स्पीरिटविपरीत गएकाले साहको विरुद्धमा उम्मेदवारी दिएको बताए ।

ज्वालाकुमारी साहले बारा ३ (क) बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दर्ता गराएकी छन् भने सोही क्षेत्रबाट माओवादी नेता चन्द्रकान्त प्रसाद यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७३ जेठ ६ गते विभिन्न समूहमा विभाजित माओवादीहरु एकता हुँदा मातृका यादव नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला सेक्रेटरी समेत रहेका यादव माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य समेत हुन् ।

अधिकारीले दिए तनहुँ २ (क)बाट स्वतन्त्र उम्मेदवारी

यसैगरी तनहुँ जिल्ला प्रदेश सभा २ (क) का माओवादी केन्द्रकी उम्मेदवार तथा हाल विना विभागीय मन्त्री समेत रहेकी आशा कोइरालाविरुद्ध पनि उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सदस्य तथा म्यादे गाउँपालिका इन्चार्ज शम्भु अधिकारीले बिहीबार दिउँसो १ बजेर १० मिनेट जाँदा आफूले तनहुँ २ (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

माओवादी नेतृत्वले पार्टीभित्र रहेका इमानदार कार्यकर्ताको सही मूल्याङ्कन गर्न नसकेको गुनासो गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका म्याग्दे गाउँपालिकाका इन्चार्ज अधिकारीले सो पदका लागि अाफू उपयुक्त पात्र रहेकाले उम्मेदवारी दिइएको बताए ।

विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुको एकतासँगै ब्यूँझिएका माओवादी नेता कार्यकर्ताहरु पछिल्लो पटक नेकपा माओवादी केन्द्र र एमाले पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी तालमेल र पार्टी एकता संयोजन समिति घोषणा भएपछि पुनः अन्तरसंघर्ष र बहसमा प्रवेश गरेका छन् ।

माओवादी नेतृत्वले निर्वाचनका समयमा टिकटका लागि पार्टीमा प्रवेश गर्ने अवसरवादी र पैसावालाहरुलाई विशेष महत्व दिई काखी च्याप्दै इमानदारहरुलाई पाखा लगाउन थालेको भन्दै विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले कुण्ठित असन्तुष्टि सार्वजनिक रुपमै छलफल गर्न सुरु गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत