सप्तरीमा उत्साहपूर्ण उम्मेदवारी दर्ता, मुख्य उम्मेदवारलाई चुनौती दिन बागीको लर्को !

१६ कार्तिक ०७४, राजविराज । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका १२ पदका लागि सप्तरीमा बिहीबार उत्साह जनकरुपमा मनोनयन दर्ता भएको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभामा ४ र प्रदेश सभामा चुनिने ८ सदस्यका लागि कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय फोरम–राजपा गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति लगायत पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

राजविराजभन्दा तीन किलोमिटर टाढा रहेको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा राखिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनका लागि विभिन्न राजनितिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता नारा, जुलुस र बाजागाजासहित पुगेका थिए ।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि कांग्रेसका रामदेव साहले मनोनयन दर्ता गराएका छन् भने वाम गठवन्धनबाट अशोक कुमार मण्डल (अमर), संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट डा. सुर्यनारायण यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. १ (क)मा कांग्रेसका डा.सुवोध पोखरेल, वाम गठबन्धनका सत्यनारायण मण्डल, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धन, राजकुमार लेखी, तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)मा कांग्रेसका बद्रि महात्मान, वाम गठवन्धनका मो. सकिल अली, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट नवलकिशोर साहको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका सकलदेव सुतिहार, वाम गठवन्धनका उमेश यादव, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।

सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकास तिवारीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा २ (क) मा कांग्रेसका महानन्द यादव, वाम गठबन्धनका सरोज मण्डल, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट शैलेन्द्र साह तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. २ (ख)मा कांग्रेसका रञ्जित कर्ण, वाम गठवन्धनका महेश यादव, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट मनिष सुमनको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसका दिनेश यादव, वाम गठवन्धनका ताराकान्त चौधरी, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट चन्द्रकान्त चौधरीको मनोनयन दर्ता भएको छ ।

प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३ (क)मा कांग्रेसका मो.समिम, वाम गठवन्धनका अब्दुल मजिद साकिर, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका दिनेश यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३ (ख)मा कांग्रेसका भगवती यादव, वाम गठवन्धनका महेश चौधरी, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका विदेश्वर यादव विक्कीको उम्मेदवारी परेको छ ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका तेजुलाल चौधरी, वाम गठवन्धनका मो. ईस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट मृगेन्द्रकुमार सिंह यादवको मनोनयन दर्ता भएको छ ।

सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माक्र्सवादीबाट मकुन चौधकरीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ४ (क)मा कांग्रेसका सिताराम साह, वाम गठवन्धनका गोविन्द्रकुमार न्यौपाने, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका अभिषेक यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ४ (ख)मा कांग्रेसका विवेकानन्द झा, वाम गठवन्धनका शशिकुमार यादव, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका विनोद चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत सानुभाई केसीले बताएका छन् ।

कुल ४७८ मतदान केन्द्र कायम गरिएको सप्तरीमा ३ लाख ४६ हजार २ सय ८६ मतदाता छन् ।

महिला उम्मेदवार दुई जना मात्र

आगामी २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि सप्तरीमा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको छ । त्यसमा पनि राजनीतिक दलहरुले विश्वास नगरेपछि महिलाहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यसरी स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनेहरुमा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(ख)बाट रेखा देवी कर्ण र ममताकुमारी दास छन् ।

दुई दर्जन बढी बागी उम्मेदवार

यता, टिकट वितरणमा असन्तुष्ट बनेका विभिन्न पार्टीका दुई दर्जनभन्दा बढी नेताहरुले प्रतिनिधि र प्रदेश सभा दुबैतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको संख्या उल्लेख्य रहको छ ।

राजपाका केन्द्रीय सहमहामन्त्री जयप्रकाश ठाकुरले टिकट वितरणमा ईमान्दार कार्यकर्तालाई पाखा लगाइएको भन्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जहा संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट फोरमकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादव तथा वाम गठवन्धन गठवन्धनका तर्फबाट पूर्वमन्त्री समेत रहेका उमेश कुमार यादव उम्मेदवार छन् ।

यस्तै राजपाकै २ नं. क्षेत्रीय सभापति लक्ष्मण यादव र संघीय समाजबादी फोरमको तर्फबाट हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राजविराजको मेयर पदका उम्मेदवार रहेका भिमराज यादवले प्रदेश सभा २ख बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जहाँ राजपा–फोरम गठवन्धनका आधिकारिक उम्मेदवार राजपाका महासचिव मनिष सुमन पनि उम्मेदवार छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)बाट संघीय समाजवादी फोरम नेपालका २ नं. प्रदेश सचिव शम्भु झाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जहाँ राजपा–फोरम गठवन्धनका राजपाका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह नै आधिकारीक उम्मेदवार छन् ।

यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४(ख)मा रामलखन साह, वालेश्वर यादव लगायत दुई दर्जन बढीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत